अर्घाखाँची १४ पुस । अर्घाखाँचीकाे मालारानी–३ का वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका ५५ वर्षीय चौहानको उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा बिहिबार विहान ४ बजेर ५० मिनेट जाँदा निधन भएको हो ।
अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गर्दा रुपन्देहीको सैनामैना नगरपालिकाको रानीबगीयामा दुध बोक्ने गाडीले चौहान सवार मोटरसाइकललाई गत मंसिर २६ गते ठक्कर दिएको थियो ।
चौहानको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई मंसिर २७ गते भरतपुर लगेर भ्यान्टिलेटरमा उपचार गरिएको थियो । नेकपा एमालेको ईलाका कमिटीमा सचिवको जिम्मेवारी सम्हालेका चौहान वि.सं २०५४ को स्थानीय निकायको निर्वाचनमा खनदह गाउँ विकास समितिको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
२०६० सालमा माओवादी प्रवेश गरी २०७३ सालमा उनी पुनः एमालेमा नै फर्किएका थिए । गत असार १४ गते भएको स्थानीय तहको निर्वाचनमा उनी मालारानी गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनका दुई छोरा, दुई छोरी र श्रीमती रहेका छन् ।
मृतक चौहानको निधनप्रति एमाले र माओवादी केन्द्रको जिल्ला कमिटीले गहिरो दुःख व्यक्त गरेको छ । अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर रायमाझी, प्रदेस सभा सदस्यहरु चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरेले शवमा संयुक्त रुपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएरका थिए । उनकाे बिहीबार चितवनको देवघाटमा अन्त्यष्टी गरिएको छ ।
यसअघि, चौहानको दुर्घटनाको समाचार सुनेर गत मंसिर २६ गते अचेत बनेका उनका ८० वर्षीय पिता तकबहादुर चौहानको पनि उपचारको क्रममा मंसिर २८ गते निधन भएको छ।