काठमाडौँ, पौष ६ \ माउण्टेन टेलिभिजन एच्डी। झापा विर्तामोड निवासी ६६ बर्षीय घिमिरे एमालेभित्र निष्ठावान नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँ छैटौं महाधिवेशनदेखि निरन्तररुप एमालेभित्र ओलीलाई साथ दिँदै आउनु भएको छ। २०३३ सालमा विद्यार्थी पृष्ठभूमिबाट कम्युनिस्ट आन्दोलनमा जोडिनुभएका घिमिरे विद्यार्थी संगठनको जिम्मेवारीकै क्रममा गाउँगाउँ पुगेर बुर्जुवा शिक्षा बहिष्कार अभियानमा सक्रिय हुनुहुन्थ्यो । घिमिरे २०३५ मा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी–माले (कोके) मार्फत् नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको थियो।
२०१३ जेठ १३ गते ताप्लेजुङ सिकैंचामा जन्मिनुभएका उहाँ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेबाट तेह्रथुम र पाँचथर जिल्लामा संगठन विस्तारको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो । घिमिरे पार्टी संगठन निर्माणका क्रममा इलाममा मात्र लगातार १० वर्ष समय विताउनुभएको थियो । त्यसक्रममा उहाँविरुद्ध तत्कालीन पञ्चायती शासकबाट पटकपटक वारेन्ट जारी भएको थियो । स्नातकसम्म अध्ययन गर्नुभएका घिमिरेले १२ वर्ष भूमिगत राजनीतिमा विताउनुभएको छ ।
२०४९ मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएका उहाँ २०५० देखि साबिकको मेची अञ्चल इन्चार्जको जिम्मेवारी बहन गर्नुभएको थियो । घिमिरे २०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभयो । संसदीय अनुभवमा उहाँको त्यो पहिलो पाइला थियो । घिमिरेले पार्टीको केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभाग इन्चार्जको जिम्मेवारीमा रहेर काम गर्नुभयो । त्यसपछि लगातार इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संगठन लगायतका विभाग र संगठनको इन्चार्जको जिम्मेवारी निर्वाहा गर्नुभएको छ।
एमालेको नवौं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष ओलीको सचिवालयको संयोजन गर्ने जिम्मेवारी समेत घिमिरेलाई नै दिइएको थियो । एमाले र माओवादी केन्द्रबीच वाम एकता भइ नेकपा गठन भएपछि घिमिरेलाई प्रदेश १ को अध्यक्षको जिम्मेवारी प्राप्त भएको थियो । एमालेको दसौं महाधिवेशनबाट उहाँ पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं. १ को इन्चार्जको भूमिकामा स्थापित हुनुभयो । मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवार एवं पूर्वसहपाठी हरि राना र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई पराजित गर्दै घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । अहिले सिंगो प्रतिनिधिसभावको नेतृत्व गर्ने जिम्मेवारी पाउनु भएको छ । प्रतिनिधि सभालाई गतिशिल बनाउन उहाँको भूमिका कस्तो होला प्रतिक्षाको विषय बनेको छ।