काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन् ।
कम्युनिस्ट आन्दोलनका पूराना नेता, नेकपा (माओवादी केन्द्र) को जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकर्पण गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले अभूतपूर्व विश्वासको मतले उर्जा र गौरवबोध भएको बताएका छन् ।
‘‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो । यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो । मैले त्यही ठानेको छु । सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको छ, देश एकतावद्ध भएर जान्छ,’’उनले भने ।
पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्रीले भने, ‘‘भुवन दाइको पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको छ । झण्डै ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको छ । पूराना शिक्षक साथीहरू र विद्यार्थीहरू पनि देख्दा छुट्टै आत्मीयताको महसुस भएको छ । परिवारका सदस्यहरू पनि हुनुहुन्छ । मलाई युवा जीवनको स्मृति भइरहेको छ ।’’