काठमाडौं । प्रमुुख सत्तारुढ दल नेपाली कांग्रेसले आज संसदीय नेता चयन गर्न निर्वाचन गर्दैछ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।
गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित कांग्रेसका ८९ जना सांसदले निर्वाचन प्रक्रियामा भाग लिनेछन् । सभापति प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मंगलबार उम्मेदवारी दर्ता गरेका छन् ।
पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बनेका छन् । उनको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।
महामन्त्री थापाको प्रस्तावकमा कांग्रेस नेता डा शेखर कोइराला तथा समर्थकमा पार्टीका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन् ।
संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।