१५ माघ काठमाडौं । सभामुख ओनसरी घर्तीले एक साता भित्र निर्वाचनसँग सम्बन्धित सवै विधेयकहरु व्यवस्थापिका संसदबाट पारित हुने बताउनुभएको छ ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख घर्तीले संविधान कार्यान्वयनका सम्बन्धमा दलहरुबीच मतभेद नरहेको भन्दै एक साता भित्र निर्वाचनसँग सम्बिन्धित विधेयक पारित हुने जानकारी दिनुभयो । विधेयक पास भएसँगै दलीय सहमतिको आधारमा निर्वाचनको मिति घोषणा हुने उहाँको भनाइ थियो ।
सभामुख घर्तीले संविधानमा आफ्नो समुदायको हक अधिकार स्थापित गर्ने विषय बाहेक निर्वाचनको सम्बन्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा समेत सकारात्मक रहेको बताउनुभयो । निर्वाचनको मिति घोषणा हुनु अगाडि नै मधेसी, थारु लगायतको माग संबोधन हुने गरी संबिधान संशोधन प्रस्तावमा दलहरुबीच सहमति जुट्ने उहाँको विश्वास छ ।
सभामुख घर्तीले २०७४ माघभित्र तीनवटै तहको निर्वाचन हुनेमा शंका नगर्न आग्रह समेत गर्नुभयो । यसैबीच, अन्तरपार्टी महिला संघ मोरङले निर्वाचनमा महिला सहभागिता बढाउनु पर्ने माग गर्दै सभामुख घर्तीलाई ज्ञापन पत्र बुझाएका थिए ।