काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा स्थायित्व र विकास माओवादीबाट मात्र सम्भव भएको बताएका छन् ।
उनले माओवादी एक नम्बरको पार्टी नबन्दासम्म देशमा स्थायित्व र विकास नहुने दाबी गरे ।
माओवादी सम्बद्ध सर्लाही–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंगलबारको गठबन्धनको बैठकबाट आवश्यक छलफल गरी सरकारलाई पुर्णता दिने तयारी भएको र जनताको समस्या समाधानमा केन्द्रित हुने बताए ।
तराई मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको हित र मुक्ति सम्भव नहुने बताउँदै माओवादीबाहेक अरू कसैलाई मत दिँदा परिणाम के हुँदोरहेछ भन्ने गएको तीन वर्षमा जनताले भोगिसकेको बताए ।
केपी ओलीलाई प्रधानमन्त्री बनाउँदा अहिलेसम्म राजनीतिक लडाइँ लडेर प्राप्त गरेको सबै उपलब्धि झन्डै गुमेको बताउँदै अध्यक्ष दाहालले माओवादीसँग अनावश्यक खेल खेलेका कारण ओली नेतृत्वको सरकार ढलेको र प्रदेश सरकारहरू पनि त्यस्तै अवस्थामा पुगेको बताए ।




