काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धताहरु तत्काल पूरा गर्न ध्यानाकर्षण गराएको छ । जसपाले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।
जसपाका नेता कार्यकर्ताहरुमा माथि लगाईएका झुठा मुद्दा फिर्ता, सांसद रेशम चौधरी लगायतका राजवन्दीहरुको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी समस्याको समाधान, स्थानीयतहको जनसंख्याको अनुपातमा पुनसंरचना, संविधानमा शिल्पी, खशको पहिचान कायम गर्ने लगायतका समस्या समाधान गर्नका लागि प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाएको जसपाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै विज्ञप्तिमा जसपाको माग मुद्दाहरुको समाधानका लागि भएका सकरात्मक पहलका लागि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद समेत दिएको छ ।
यसका साथै आज बसेको बैठकले बाढी पहिरो र डुवानका कारण ज्यान गुमाउन पुगेका परिवारहरुलाई राहत तथा क्षतिपूर्ति र घरबारबिहीन भएका परिवारलाई उचित व्यवस्थापन गर्न सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।






