काठमाडौं । गृहमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताएका छन् । सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिए । अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको निम्ति कामको योजना बनाएर अघि बढ्नुपर्ने पनि उनको भनाई छ । मन्त्री पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउनका लागि र यसको प्रतिष्ठालाई माथि उठाउनको निम्ति प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन समेत दिए ।
अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले क्यू.आर. कोड सहितको नेपाली कोडबाट सिधै छपाइ हुने भिसा प्रणालीको सुरुवात गरिएको जानकारी दिए । यसबाट विदेशी नागरिकहरुले विश्वको जुन कुनै ठाउँबाट पनि भिसाको लागि आवेदन दिन सक्ने भट्टराईले बताए ।
उनले विदेशी नागरिकले विवरण नेपाली पोर्टमा राखिसकेपछि भिसामा चाहिने विवरण कन्भर्ट भएर भिसा स्टिकर छपाइ हुने र नयाँ भिसा स्टिकरमा प्रयोग भएको क्यू.आर. कोडले यात्रा गर्ने मानिसको गोप्य सूचनाहरु स्टोर गर्ने भएको हुनाले विश्वसनीय, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरमा तुलनायोग्य रहेको बताए ।
अन्तर्राष्ट्रिय रुपमा भुक्तानी प्रणाली सुचारु नभएकाले तत्कालै विद्युतीय भिसा जारी गर्न नसकेपनि इन्टरनेशनल पेमेन्ट गेटवे सञ्चालन हुन वित्तिकै विद्युतीय भिसा जारी गर्न सकिने उनले बताए । विदेशीले नेपाली पोर्ट लग इन गरी भिसा एप्लाइ गर्न सक्ने तथा क्रेडिट कार्ड स्वाव गरेर पैसा तिर्न सकिने उनले जानकारी दिए ।
त्यसरी तिरेको पैसा महालेखा नियन्त्रकको कार्यालयले तोकेको खातामा जम्मा हुने पनि भट्टराईले बताए । यसरी एप्लाइ गरेको व्यक्तिलाई अध्यागमन विभागले यहीँबाट हेरेर भिसा स्वीकृत÷अस्वीकृत गर्न सक्ने र स्वीकृत भएको खण्डमा विभागले जारी गरेको इलेक्ट्रोनिक ट्राभल औथराइजेशन बोकेर नेपाल आउनसक्ने महानिर्देशक भट्टराईले बताए ।
यात्रुको इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन हेरेर नेपालको प्रवेश विन्दुमा नेपालको भिसा स्टिकर उपलब्ध गराउन सकिने उनले बताए ।





