काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोभिड – १९ विरुद्धको खोपको सहज उपलब्धता नभएको भन्दै सरकारका सम्बन्धित अधिकारीसँग सोधपुछ गर्ने बताएको छ ।
बुधबार बसेको समितिको बैठकले कोभिड–१९ विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका व्यक्तिहरुले पनि दोस्रो मात्रा खोप पाउन नसकेको र खोपको उपलब्धता हुन नसकेको भन्दै सरकारी अधिकारीहरुसंग छलफल सोधपुछ गर्ने भएको हो । तत्कालै सरकारको प्रतिनिधिसँग यस सम्बन्धमा छलफल गरिने समिति सभापति दिल कुमारी रावल थापाले जानकारी दिएका छन् ।
साथै समितिले कोभिड–१९ को नयाँ भेरियन्टको प्रभावको सम्बन्धमा पनि विज्ञहरुसँग छलफल गर्ने उहाँले जानकारी दिए । यस्तै समितिले विपतको सम्बन्धमा सरकारले गरेको पूर्व तयारी र विपतपछि प्रतिकार्यका लागि बनाएको योजनाको सम्बन्धमा पनि छलफल गर्ने भएको छ ।
सिन्धुपाल्चोक बाढी पीडितलाई दाल, चामल बोकेर राहत दिन जानेको भिड बढेको र बाढी पीडितलाई दाल, चामल मात्रै आवश्यक नरहेको भन्दै समितिले तिनै तहको सरकारसँग अन्य विभिन्न आवश्यकताहरुको सम्बन्धमा पनि छलफल गर्नुपर्ने निष्कर्ष निकालेको थापाको भनाई रहको छ ।