काठमाडौं । ललितपुर सिटी फुटबल क्लबले लगातार दोस्रो जित निकाल्दै नेपाल सुपर लिगको प्लेअफमा पुगेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा विराटनगर सिटी एफसीलाई ४–० ले हराएको ललितपुर प्लेअफमा पुगेको हो ।
हारसँगै उपाधिको दाबेदार मानिएको विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ । ललितपुरको जितमा कप्तान अञ्जन विष्टले दुई गोल, विमल रानाले एक गोल र नुरुलान जाहिदले एक गोल गरेका छन् ।
खेलको ८४ औं मिनेटमा विराटनगर १० खेलाडीमा सीमित भएको थियो । विजय धिमाल दोस्रो पहेँलो कार्ड पाएर मैदान छाड्न बाध्य रहे । यो जितपछि ललितपुरको ६ खेलबाट ९ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । विराटनगर भने ७ अंकमै सीमित रहेर पाँचौं स्थानमा झरेको छ ।
प्रतियोगिताका सुरुआती चार खेलबाट ७ अंकसहित बलियो स्थितिमा रहेको विराटनगरले त्यसपछि अंक जोड्न नसकी प्रतियोगिताबाट बाहिरियो ।




