दुई हजार जना मारिएको भक्तपुरको युद्ध | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

दुई हजार जना मारिएको भक्तपुरको युद्ध

(इतिहास)
राजकुमार दिक्पाल

गोरखा राज्यमा पृथ्वीनारायण शाहलाई सुरो र चतुर बनाउनमा उनकी जेठी आमा रानी चन्द्रप्रभावतिको ठूलो योगदान रहेको छ । कमजोर प्रकृतिका राजा नरभूपाल शाहमा राजकाजप्रति त्यति ठूलो लगाव पनि थिएन । त्यसैले भारदारहरुको सहयोगमा राज्यका कतिपय महङ्खवपूर्ण निर्णयहरु रानी चन्द्रप्रभावतिले गर्ने गर्थिन् । उनी निसन्तान थिइन् । नरभूपालकी अर्की रानी कौशल्यावतिको गर्भबाट जन्मेका पृथ्वीनारायण शाह चन्द्रप्रभावतिको छत्रछायाँमा हुर्केका थिए ।

पृथ्वीनारायण शाह युवराज अवस्थामै हुँदा भक्तपुरका युवराज वीरनरसिंह मल्लसँग मित लगाएका थिए । कान्तिपुर र ललितपुरलाई दवाउनका लागि गोरखालीहरुले भक्तपुरका राजा रणजित मल्लसँग मित्र सम्बन्ध राख्नुपर्ने आवश्यकता देखे । लमजुङसँग सम्बन्ध भएको केही महिना अगाडी वा पछाडी रणजित मल्ल र नरभूपाल शाहबीच मितेरी लगाउन भनी गोरखाली युवराज पृथ्वीनारायण शाह भक्तपुर पुगेका थिए । तर सिल्लीपन सर्ने डरले रणजित मल्ल नरभूपाल शाहसँग मितेरी लगाउन राजी भएनन् । बरु उनले दुई राज्यबीच सम्बन्ध कायम गर्न विवाहिता रानीतिरका आफ्ना एक मात्र छोरा युवराज वीरनरसिंह मल्लसँग पृथ्वीनारायण शाहको मितेरी लगाई परस्पर मित्र सम्बन्ध स्थापित गरे । (आचार्य, बाबुराम, ‘पूर्णिमा’ पूर्णाङ्क ४९–२०३८ असोज, पृ. ९–१०)

पृथ्वीनारायण शाह युवराज छँदै कालु पाँडेको सक्रियतामा वि.सं. १७९७ मा गोरखाको लमजुङसँग सन्धि भएको थियो । (गंगा कर्माचार्य (हाडा), ‘सिनास जर्नल’–वर्ष ३१, अंक २–२००४ जुलाई, पृ. ३४२) यसबाट हेर्दा गोरखाली युवराज पृथ्वीनारायण शाह र भक्तपुरका युवराज वीरनरसिंह मल्लबीच वि.सं. १७९७ ताका मितेरी साइनो जोडिएको थियो भन्ने बुझ्न सकिन्छ ।

मितज्यूको असामयिक देहान्त
राजा रणजित मल्लसँग अनेक उपरानीहरु थिए । तर विवाहिता रानीका तर्फबाट एक मात्र छोरा वीरनरसिंहको जन्म भएको थियो । उनका उपरानीकातर्फबाट थुप्रै मठ्याहा छोराहरु थिए । ती मध्ये सात जना पछिसम्म जिवित रहेकाले उनीहरु सातबहाले नामले चर्चित थिए । (श्रेष्ठ, देवीचन्द्र, ‘भक्तपुरमा गोर्खाली हमला’–२०७६, पृ. ३२–३३)

युवराज वीरनरसिंहको मृत्यूमा रणजित मल्लका मठ्याहा छोराहरुको हात रहेको छ भन्ने ऐतिहासिक वर्णन पाइन्छ । उनीहरुमध्ये अजितसिंह, अवभूतसिंह बडो बाठा थिए । उनीहरु भक्तपुरका भावी राजा बन्न चाहन्थे । उनीहरुले वीरनरसिंहलाई टुनामुना गरेर मारेको चर्चा गर्ने गरिएको छ । यसका लागि उनीहरुले धेरै तान्त्रिकहरुलाई राम्रै मोल कबोलेका थिए । (नेपाल, ज्ञानमणि, ‘हिमालखबर डट कम’–२०७३ चैत ५)

उनीहरुले दोबाटो, दोभान, श्मशानमा साकिनी डाकिनी थापेर, युवराजले लगाएको ध्वजापताका टाँगेर, बोकाहरुको बलि दिएर, बाघका हाड, जुँघा, श्मशानको खरानी मन्त्रेर युवराजको ओछयानमा राखिदिए । भण्डारभित्र पूजाआजा, अभिचार गरी चार जातका केटा र एक केटीको पञ्चबलिसमेत दिएका थिए । (नेपाल, उही)

द्यौ ब्राह्मण, तिरहुतेदेखि च्यामे–कुसलेसम्मका हजार जना भेला पारेर भोज गराए । अनेक ओखति र रगतले मुछेर वीरनरसिंहको कोठामा धुप हाले । देख्दादेख्दै वीरनरसिंह बेरुप बने । यस कुराको कसैले छनक नपाओस भनेर चियो गर्न बालक, वैद्य, भण्डारे र भान्सेहरुलाई ठाउँ ठाउँमा राखिएको थियो । अनेक छल गरेर युवराज वीरनरसिंहलाई सिध्याएपछि सातबहाले प्रसन्न भएका थिए भने राजा रणजित मल्ल चाहिँ शोकले मर्नु न बाँच्नुको अवस्थामा पुगेका थिए । (नेपाल, उही)

यस प्रसङ्गमा ध्यान दिदा रणजित मल्लका मठ्याहा छोराहरुले युवराज वीरनरसिंह मल्ललाई टुनामुनाप्रति मानिसको ठूलो विश्वास हुने त्यो समयमा गम्भीर किसिमको मानसिक पीडा दिएर मारेको हुनसक्ने देखिन्छ ।

मितबामार्फत कर्जा र बन्दुक खरिद
गोरखा सानो र गरीब राज्य थियो । यहाँका राजाहरुलाई अरु राज्यले छोरी दिन पनि गाह«ो मान्थे । राम शाह पर्वतका राजा राज मल्लकी छोरी विवाह गर्न जाँदा हेपेर छोरी नदिई भाञ्जीसँग विवाह गरी पठाएका थिए । पृथ्वीनारायण शाहले मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग पहिलो विवाह गरेका थिए । तर डोला लिन जाँदा मकवानपुरी राजा हेमकर्ण सेनले तत्काल आफ्नी छोरी गोरखा पठाउन आनीकानी मात्र गरेनन्, युवराज दिग्वन्धन सेनसँग त पृथ्वीनारायण शाहको ठूलै झगडा भएको थियो । पछि आफ्नो विजय अभियानमा मकवानपुरगढी कब्जा गरेपछि पृथ्वीनारायण शाहले दिग्वन्धन सेनलाई पक्राउ गरी उनी, उनकी रानी र छोरालाई समेत जीवनभर गोरखामा नजरबन्दमा राखे । (आचार्य, बाबुराम, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’–२०६१, पृ. २८७)

पृथ्वीनारायण सुरा र महङ्खवाकाँक्षी थिए । तर उनीसँग धनको ठूलो अभाव थियो । धनको जोहो टार्न उनले आफ्ना मीतबा भक्तपुरका राजा रणजित मल्ललाई सम्झे । राजा रणजितले पनि आफ्नो साँध जोडिएको कान्तिपुर राज्यअन्तरगतको साँखु र चाँगु कान्तिपुरबाट झिकेर आफूलाई दिलाइदिने भए धनको खाँचो टारिदिने आश्वासन दिए । यो प्रस्तावलाई स्वीकार गरेपछि पृथ्वीनारायण शाह बनारसमा रहेको बेला भक्तपुरमा आएर मठ स्थापना गरिरहेका महन्त कमल वनसँग १०–१२ हजार रुपैयाँ कर्जा लिएर बनारस पठाइदिएका थिए । (आचार्य, उही, पृ.१६४)
यसरी भक्तपुरका राजा रणजित मल्लमार्फत् कर्जा काढेर पृथ्वीनारायण शाहले बनारसबाट प्रतिगोटा ६० रुपैयाँ पर्ने केही बन्दुक, युद्धमा चाहिने पाल, केही आवश्यक सामान, उस्ताद र कालिगढको काम गर्ने एक मुसलमानलाई बन्दोवस्त गरेर गोरखा ल्याएका थिए । (आचार्य, उही, पृ. ११७–११८)

पछि पृथ्वीनारायण शाहले जयप्रकाश मल्लसँग क्रुद्ध भएका परशुराम थापालाई हात लिई उनकै सहयोगमा सन् १७४६ अगष्ट ३१ (वि.सं. १८०२ भदौ १९ गते) नालदुमगढी कब्जा गरेपछि परशुराम थापाले नै आफ्ना साथमा रहेका सैनिक ल्याएर साँखु र चाँगु दुई मौजा राजा रणजित मल्लका लागि अधिकारमा ल्याइदिए । (आचार्य, उही, पृ. १७४) यसरी पृथ्वीनारायण शाहले पूर्ववाचाअनुसार आफ्ना मीतबाबाट काढेको कर्जावापत साँखु र चाँगु भक्तपुर राज्यमा मिलाइदिएका थिए ।

भक्तपुर हमलाको तयारी
कान्तिपुर र ललितपुर राज्य आफ्नो हातमा आएपछि पृथ्वीनारायण शाहले राज्यविस्तार अभियानका क्रममा आफ्ना मीतबा राजा भएको भक्तपुरमा आँखा लगाए । कान्तिपुरका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिंह मल्ल भक्तपुरमा शरण लिन पुगेका थिए । पृथ्वीनारायण शाहले शरणार्थी राजालाई आफूसमक्ष सुपुर्दगी गर्न माग गर्दा रणजित मल्लले ‘आफूले शरणको मरण नगर्ने’ बताएर मीत छोराको प्रस्ताव अस्वीकार गरिदिएका थिए । त्यसपछि पृथ्वीनारायण शाहलाई भक्तपुर हमलाका लागि निहुँ निस्किहाल्यो ।

भक्तपुरको आक्रमणको तयारीका लागि पृथ्वीनारायण शाहले सबैभन्दा पहिले श्रीकृष्ण पाठकलाई दुवाकोट पठाई ठाना बार्न लगाए । चारतिर ठाना बार्दै लगिएपछि रणजित मल्ल पनि हतास मनस्थितिमा पुगिसकेका थिए । (आचार्य, उही, पृ. ३५३)

पृथ्वीनारायण शाहले भक्तपुरमा कडा नाकाबन्दी लगाएकै थिए । उनले भक्तपुर हमलाका लागि बनाएको विभिन्न योजनामध्ये त्यस ठाउँमा पाक्दै गरेको बाली लुट्ने पनि एक थियो । उनले पश्चिमतिरको काजमा खटिएका एक भारदार देवु रानालाई कान्तिपुरबाट लेखेको पत्रमा साँगा, लुभु, पाटन, काठमाडौं, देवपाटन, गोकर्ण, चाँगु लगायतका ठाउँबाट प्रजाहरु भेला गरेर तथा सैनिक परिचालन गरेर भक्तपुरको बाली लुट्ने योजना बनाएको जानकारी दिएका थिए । (‘प्राचीन नेपाल’, संख्या ६१–६४–२०३७ पुस–२०३८ साउन, पृ. ३०)

पत्रको ब्यहोरा यस्तो छ :
स्वस्ति श्री राजभारासमर्थ देवु रानाकै आशिष इहा कुशल ता कुसल चाहिए. पत्र आयो अर्थ मालुम भयो. इहाका समाचार भलो छ. उप्रान्त पश्चिमकोसे समाचार विंति गरि पठाइन्छ. सविस्तार सुन्यौ. वाकी इहांको समाचार काठमाडौ पाटन फत्य भयाको समाचार अस्ति विस्तार सुन्यौ. विस्ता वुनि होस अव भादगाउँको वालि पनि लुट्नु भादगाउँलाई पनि सकसलाउनु चाजो गरी डुवुकोबाट ठाना २ सागाका फेदि महां ठाना २ प¥या. प¥याका ठाना दह«याकन अघि ठाना सौन्र्या गर्दैछौं. साँगाबाट पनि लभु पाटन काठमाडौं देउपाटन गोकर्न चाँगु सर्वत्रबाट प्रजा सिपाही लगाई वाली लुटाउछौं ठाना हाली भादगाउँकन पनि सकस लगाउछौं. बाकि पश्चिम तिरको सै समाचार निस्तुक बुझ्दै विंति गरि पठाउछौ. ताहाको गढ गौंडा पनि वहुतै संभार गर्नु किमधिकम आश्विन सुदी ३ रोज १ मुकाम कान्तिपुर शुभम्

भक्तपुरमा घातक हमला
थाना बारेर भक्तपुरलाई घेर्दै, त्यहाँ पाक्दै गरेको बाली पनि लुट्ने योजना बनाउँदै गरेका गोरखालीहरुले उनीहरुका ज्यातिष कुलानन्द ढकालले निकालिदिएको साइतअनुसार वि.सं. १८२६ कात्तिक २८ गते राती १० बजे भक्तपुरमा हमला गरे । त्यतिखेर पृथ्वीनारायण शाह काठमाडौंमा बसेर युद्ध सञ्चालन गरिरहेका थिए । यो युद्धमा सुरप्रताप शाह र वंशराज पाँडेले सैन्य नेतृत्व गरेका थिए । (आचार्य, उही, पृ. ३५६)

यो युद्धमा भक्तपुरको ठूलो क्षति भयो । गोरखालीहरुको बन्दुक प्रहारबाट धेरै भक्तपुरे मारिए । कैयौँ निर्दोष नरनारीहरुको पनि ज्यान गयो । भक्तपुरका अन्तिम राजा रणजित मल्लको दरबारमा काम गरेका एक व्यक्ति गरुडनारायण गोंगलले भक्तपुरमा भएको गोरखाली हमला प्रत्यक्ष देखेका थिए । उनले गोरखालीहरुबाट भएको हमलाका बारेमा लेखिराखेको लिखत प्रकाशमा आएको छ । उनको बयानअनुसार ललितपुरको पतनअघि नै कान्तिपुरबाट भागेका राजा जयप्रकाश मल्ल तेखाचो ढोकाबाट नगर प्रवेश गरी ‘हादी’ क्षेत्रमा बसिराखेको खबर सार्वजनिक भयो । यो क्षेत्र भक्तपुरको दत्तात्रेय मठको परिसर हो । त्यहाँका मठाधिश महन्तहरुले जयप्रकाशलाई आश्रय दिएर राखेका थिए । यो सूचना पाएपछि रणजितले खतरा महसुस गरेका थिए । (श्रेष्ठ, देवीचन्द्र, ‘भक्तपुरमा गोर्खाली हमला’–२०७६, पृ. १५)

गोरखाली सेनाले दरबारको छतमा चढेर शत्रु सेनालाई प्रहार गर्न भक्तपुर दरबार परिसरतिर गोली बर्साएका थिए । लगातारको यो घातक हमलाबाट बच्न रणजित मल्ललाई सुरक्षाका लागि चौकोट पुग्न जरुरी थियो । अन्तिम सुरक्षाका लागि चौकोट जाँदै गर्दा जयप्रकाश मल्ललाई गोली लाग्यो । ललितपुरका राजा तेजनरसिंह मल्ललगायत राजा रणजित मल्ल, उनका छोराहरु, काजी प्रधानहरु र छरिदार हेमनारायणसमेत ५१ जना चौकोट दाखिल भए । तर त्यहाँ पनि सुरक्षित हुने स्थिति रहेन । दरबारभित्रकै चोकको छाना छानामा गोरखाली सेनाले बन्दुक हान्ने भएपछि हेमनारायणले आत्मसमर्पणका लागि पटकपटक राजासमक्ष जाहेरी गरे । त्यसपछि राजाले आफ्नो पगरी फुकाएर झ्यालबाट तल झुण्ड्याइदिए । त्यो देखेर युद्ध सञ्चालन गरिरहेका काजी शुरप्रताप शाहले युद्ध बन्द गर्ने आदेश दिए । (श्रेष्ठ, उही, पृ. २८)

युद्धविरामपछि तीन राजा बन्दी बनाइए । रणजितलाई उत्तर दलानमा, जयप्रकाश मल्ललाई पश्चिमको दलानमा लगेर राखियो । जयप्रकाशका लागि सुवेदार अतिबल विष्ट पहरामा खटिए । उनका सुसार र उपचारका लागि कामदार र वैद्यलाई खटाइयो । रणजितको सेवामा साविकैजस्तो गरुडनारायण गोंगललाई कायम गरिएको थियो । गोरखाली पहरा प्रभुवन ठाकुरले सम्हालेका थिए । उनका तीन रानी पनि नजरबन्दमा थिए । पृथ्वीनारायण शाहले सबै रानीलाई आफैसँग राख्ने कि भनी सोधनी पठाउँदा रणजितले कान्छी रानीलाई मात्र ल्याइदिन इच्छा जाहेर गरे । मितबाको सम्मान गर्न पृथ्वीनारायण शाहका रानी तथा मैयाहरुले पनि रणजितका लागि खाना पठाउने गर्थे । उनीसँग राजनीतिक संवादका लागि पृथ्वीनारायण शाहले केहरसिंह बस्न्यातलाई खटाइदिएका थिए । (श्रेष्ठ, उही, ३०–३१)

रणजित मल्लले आत्मसमर्पण गरेपछि त्यसको औपचारिक विधि पु¥याउन जाने दूतमध्ये केहीलाई शुरप्रताप शाहले मारिदिए । उनको तर्फबाट राजकुमार धन जुजु, डाटिम्ह जुजु (अच्यूतसिंह), प्रधानहरु जसराज भँडेल र जगन्नाथसिंह नगरको पश्चिम खौमाटोलस्थित बाटुले देवालयमा शुरप्रताप शाहलाई भेट्न पुगेका थिए । उनले जसराज भँडेल र जयप्रकाशका कामदार हनुमन्तसिंहलाई संगीनले रोपी मारे भने जगन्नाथसिंहलाई पसिखेलमा लगेर मारे (श्रेष्ठ, उही, पृ. ३२)

यो शुरप्रताप शाहको ठूलो अत्याचार थियो । भक्तपुरमा गोरखाली हमलाको प्रत्यक्षदर्शी तथा रणजित मल्लका कामदार गरुडनारायण गोंगलको बयान भादगाउँमा शरण लिन पुगेका ललितपुरका राजा तेजनरसिंह मल्लको बारेमा भने मौन छ । पृथ्वीनारायण शाहले तेजनरसिंह मल्ललाई कोर्रा हान्न लगाएका थिए । उनका प्रमानहरुले भक्तपुर शहरमा आगो लगाई जनधनको नोक्सानी गराएको आरोपमा कोर्रा ठोक्न लगाई भक्तपुर राजदरबारको एक भागमा नजरबन्द रहने गरी सामलका लागि दुधच्यूरा ठेकिदिएका थिए । (आचार्य, उही, पृ. ३५८)

यस युद्धमा भक्तपुरको धनजनको ठूलो क्षति भएको थियो । बेलखाटोलमा घर जलाइँदा त्यहाँबाट शरण पर्न मूलचोकमा आएका निहत्था नगरबासी गोरखालीको गोली प्रहारमा परी धेरै मरे । पाँच सय एक घर जले । मल्ल सैनिकसमेत दुई हजार एक जना मरे । गोरखाली पक्षका केवल ५० सैनिक परे । (आचार्य, उही, पृ. ३५८)

रुदै सराप्दै रणजितको काशी यात्रा
युद्धपछि पृथ्वीनारायण शाहले भक्तपुर राज्य कब्जामा लिए । उनका मठ्याहा छोराहरु सबै बन्दी बनाइए । भक्तपुर छाडेर आउँदा उनी काठमाडौंमा बसन्तपुर दरबारमा एक महिना बसे भनी गरुडनारायण गोंगलको बयानमा उल्लेख छ । (श्रेष्ठ, उही ३५)

बाबुराम आचार्यले भने रणजित मल्ल वि.सं. १८२६ पुस २९ गते भक्तपुरबाट काठमाडौं आएर एक बास मात्र बसी त्यसको भोलीपल्ट काशी प्रस्थान गरेको उल्लेख गरेका छन् । पृथ्वीनारायण शाहले रणजित मल्ललाई काठमाडौं उपत्यकाभित्रै कुनै गाउँमा राजोचित गरेर नजरबन्द गर्न आँटेका थिए । तर रणजितले बनारस (काशी)मा तीर्थबास गरेर बिताउने इच्छा जाहेर गरे । उनकै आग्रहमा थुनामा रहेका एक छोरा अवभूतसिंहलाई मुक्त गराई कान्छी उपपत्नीका लिएर काशीतिर प्रस्थान गरे । (आचार्य, उही, पृ. ३६०)

काशी प्रस्थान गर्दा उनी चन्द्रागिरी डाँडाको बाटो हुँदै गएका थिए । त्यहाँ एकछिन अडिई सातबहाल भित्रिनीतर्फका छोराहरुले कर्तब्य गरी उनका विवाहिता रानीतिरका एक मात्र छोरा वीरनरसिंहलाई मराएको र आफूलाई समेत दुःख दिएको सम्झेर नेपाल (उपत्यका) तिर हेरेर आँसु काढ्दै श्राप दिए, ‘यी सातबहाले छोराहरु र यिनका सन्तान चण्डाल अनुहार भएका र महादरित्र होऊन् । कुनै भलामानिसले यिनीहरुसँग संगत नगरुन् । यिनीहरुले घरका झ्याल, थाम, ईंट, झिंगटी लगायत बेची खान परोस् । आखिर सन्तान पनि नष्ट होऊन् ।’ (‘प्राचीन नेपाल’, संख्या २३–वैशाख ३०, पृ. २)

आफ्नो राज्यको पतनपछि यसरी श्राप दिदै विलाप गर्दै भक्तपुरका भूतपूर्व राजा रणजित मल्ल काशीबासतर्फ प्रस्थान गरे । उनी पृथ्वीनारायण शाहको मितबा छँदै थिए, उनी आफै जमानी बसेर मितछोरालाई ब्यापारी कमल वनसँग १०–१२ हजार रुपैयाँ सापटी पनि काढिदिएका थिए । त्यहीँ पैसामध्ये केही खर्च गरेर पृथ्वीनारायण शाहले बनारस (काशी)बाट बन्दुक किनेर ल्याएका थिए । राजनीतिको अनौठो खेल, त्यहीँ बन्दुकको ब्यापक प्रयोग गरेर गोरखालीहरुले भक्तपुरमा नरसंहार मच्चाएका थिए । रणजित मल्लले वि.सं. १८२८ जेष्ठ शुक्ल १० मा काशीको मर्णिकाघाटमा प्राण त्यागे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);