काठमाडौँ, २६ असोज । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ ।
बिहिबार चारवटै सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले राष्ट्रिय तहको निर्वाचन भएकाले नेता र उम्मेदवारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन आग्रह गरेका हुन् ।
उनले उम्मेदवारहरुको सुरक्षा व्यवस्था प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त यादवले सरकारले ल्याएको निर्वाचनसम्बन्धि सुरक्षा योजना व्यवहारिक भएको टिप्पणी गरेका हुन् । सुरक्षा निकायका अधिकारीहरुले स्थानीय तहको निर्वाचनको अनुभवलाईसमेत समेटेर निर्वाचनसम्बन्धि केन्द्रिय योजना तयार पारिएको जानकारी गराएका थिए ।
आगामी मंसीर १० र २१ गते २ चरणमा गरी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । राजनीतिक दलहरुले २९ गते आईतबार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचि निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ।