काभ्रे, १५ फागुन । केही महिना अघिसम्म फोहोर थुप्रिएको धुलिखेल नगरपालिकाको बखुण्डोलमा अहिले सुन्दर पार्क निर्माण भएको छ । काभ्रेको धुलिखेल नगरपालिका वडा नं ४ र ५ मा स्थानीयहरुको विशेष सक्रियतामा पार्क निर्माण गरिएको हो । हरेक वडामा फरक विशेषता सहितका पार्क बनाउने धुलिखेल नगरपालिकाको योजना अनुरुप तीन वर्षमा नगरमा ३३ वटा पार्क निर्माण भइसकेको नगरपालिकाका प्रवक्ता पुष्पराज राउतले जानकारी दिए ।
कोरोना भाईरसको कारण सरकारले गरेको लक डाउनको समयमा खम्पु पार्कको निर्माण भएको छ । लकडाउनको सदुपयोग गर्दै धुलिखेल –४ बखुण्डोलका युवाहरुले बखुण्डोल पार्क बनाइरहेका छन् जसमा हालसम्म २९ लाख खर्च भैसकेको छ भने निर्माण जारी छ । धार्मिक साँस्कृतिक विशेषता सहितको आकर्षक पार्क निर्माण भईरहेको स्थानीयहरुको भनाइ छ ।
फूल रोपेपछि फोहोर फालिदैन र सफा हुन्छ भन्ने सोचबाट सुरु भएको अभियान पार्क निर्माणसम्म पुगेको हो । पार्कमा परेवा, झरना, हिमाल, फूल बगैँचा तथा विभिन्न जनावरका प्रतिक राखिएको छ । धुलिखेल नगरपालिकाले हरेक वडामा भौगोलिक, धार्मिक, साँस्कृतिक रितिरिवाज अनुसार बुद्ध पार्क, चिल्ड्रेन पार्क, सूर्योदय पार्क लगायतका ठाउँको पहिचान दिने पार्क स्थापना गरेको हो ।
स्थानीयले थालेको पार्क बनाउने अभियान हाल नगरपालिका स्तरमै संचालन भईरहेको छ । निर्माण सम्पन्न भईसकेको केही पार्कहरुमा भने अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरुको घुइँचो नै लाग्ने गरेको छ ।