जथाभावी निर्माण गरिएका कच्ची सडकका कारण उदयपुरका ग्रामीण क्षेत्र कुरुप बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८२, बुधवार

उदयपुर, गोपाल पोखरेल, १८ असोज ।  प्राविधिक इस्टिमेटबिना जथाभावी निर्माण गरिएका कच्ची सडकका कारण उदयपुरका ग्रामीण क्षेत्र कुरुप र प्राकृतिक प्रकोपका दृष्टिले जोखिमपूर्ण बन्दै गएका छन् । सरकारी मापदण्डविपरीत वातावरणीय प्रभाव मूल्यांकनबिना प्राविधिक दृष्टिले उच्च जोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजीले एकातिर गाउँलाई कुरुप बनाएको छ भने अर्कातिर दुर्घटनाको जोखिम बढाएको छ ।

जिल्लाका चार नगरपालिका र चार गाउँपालिकालाई समेटेर निर्माण गरिएको सडक सञ्जालका अधिकांश भाग सवारी सञ्चालनका लागि जोखिमपूर्ण छन् । गाउँबस्तीमा पर्ने असरबारे ख्याल नगरी बनाइएका धेरै मोड र साँघुरा सडकका कारण विकासभन्दा बढी जोखिम निम्तिएको स्थानीयबासी बताउँछन् ।

वातावरणीय प्रभाव मूल्यांकनको समेत वास्ता नगरी जथाभावी ट्रयाक खोलिएका सडकमा ट्रयाक्टरसमेत सञ्चालन गर्न समस्या हुने गरेको छ । सडक बनाउँदा अपनाउनुपर्ने मापदण्ड नअपनाइँदा जोखिम बढी र विकास कम भएको स्थानीयको बुझाइ छ । प्राविधिक दृष्टिले ट्रयाक खोल्नै नमिल्ने स्थानमा समेत जथाभावी ट्रयाक खोल्नाले गाउँमा दुर्घटना हुने गरेको छ ।

वर्षायामको बाढी र पहिरोका कारण हुने मानवीय क्षति बढाउने यस्ता सडक निर्माण गर्न नदिन सम्बन्धित निकायको तत्काल ध्यान जान जरुरी देखिन्छ । प्राविधिक इस्टिमेटबिना आफूखुसी यस्ता सडक निर्माण गर्दै जाने हो भने ग्रामीण क्षेत्रको सुन्दरता त हराउँछ नै आफ्नै कारणले आफैं विस्थापित हुने दिन नआउला भन्न सकिन्न ।