एजेन्सी, ७ साउन । तिब्बतका नेता एवं धार्मिक गुरु दलाई लामाले आफूले राजनीति छाडेको घोषणा गर्नुभएको छ । चीनद्वारा अपदस्थ गरिएपछि ६० वर्षदेखि भारतीय भूमिमा शरण लिएर बसिरहनु भएका बौद्ध धर्मका गुरु दलाई लामाले राजनीति छाडेको घोषणा गर्नुभएको हो ।
तिब्बतियन बुद्ध धर्मावलम्बीहरुका पवित्र धार्मिक गुरु दलाई लामाले आफूपछि कस्लाई दलाई लामा बनाउने भन्ने निर्णय गर्ने सर्वाधिकार तिब्बतीहरुमा मात्र रहेको प्रष्ट गर्नुभएको छ । उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले घोषणा गरेको व्यक्तिलाई तिब्बतीहरुले कुनै हालतमा दलाईका रुपमा नस्वीकार्ने पनि स्पष्ट गर्नुभएको छ ।
६० लाख तिब्बतीको विश्वास आफूमा रहेको दाबी गर्दै उहाँले तुलनात्मक रुपमा केही क्षेत्रमा भने तिब्बतियन बुद्धिज्म र तिब्बतीहरुप्रति चिनियाँ शासकको रवैया उदार देखिएको बताउनुभएको छ । आफूले राजनीति छाडिसकेकाले चिनियाँ बुद्धिज्मका लागि सेवा गर्ने इच्छा व्यक्त गर्दै उहाँले त्यही माध्यमबाट चिनियाँ नैतिक मूल्यमा परिवर्तन गराउने चाहना रहेको उल्लेख गर्नुभयो ।




