कपिलवस्तु, ५ साउन । कपिलवस्तुको सदरमुकाम तौलिहवामा हुलाकी सडक आयोजना अन्तर्गतका सडक क्षेत्रभित्र अतिक्रमण हटाउन सुरु गरिएको छ ।
सरकारी कार्यालयहरू, जिल्ला समन्वय समिति, नेपाल बाल संगठन, सन साइन बोर्डिङ स्कूल र तौलेश्वरनाथ संस्कृत विद्यालयको पर्खाल र सरकारी वकिल कार्यालय अगाडिको प्रतिक्षालयको पर्खाल डोजर लगाएर भत्काउँदै अतिक्रमण हटाउन सुरु गरिएको हो ।
खानेपानी कार्यालय र दुई वटा विद्यालयको केही पर्खाल पनि डोजर लगाएर भत्काइएको छ । हुलाकी राजमार्ग योजना कार्यालयले अतिक्रमण हटाउनका लागि पटक– पटक म्याद जारी गरेको थियो ।
म्याद सकिने बित्तिकै अतिक्रमण हटाउन सुरु गरिएको हुलाकी सडक अयोजना कपिलवस्तुले जनाएको छ । हुलाकी सडकका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोलीले दुई वटा डोजर प्रयोग गरी अतिक्रमण हटाएका हुन् ।
२३ सय ४० मिटरभित्र २ सय ७३ वटा अतिक्रमित संरचना रहेका छन् । कपिलस्तु नगरपालिका अनुसार जमुवारदेखि भिक्षूसम्म ५ सय ८३ संरचना भत्काउँनु पर्नेछ ।
यसैबीच, स्थानीय काली शर्मा र रोहीत उपाध्यायले उच्च अदालत तुलसीपुरमा उक्त कार्य रोक्नका लागि रिट निबेदन दिएका छन् । सोही आधारमा बुटवल इजलासले निबेदकका हकमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै विपक्षी हुलाकी सडक आयोजना र सडक विभागलाई साउन १२ गते छलफलका लागि अदालतमा बोलाएको छ ।