काठमाडौं, ११ असार । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्ट गरेको छ । संचारमाध्यममा चीनले नेपाली भूमि मिचेको भन्ने समाचार आएपछि ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरेर उक्त कुरा बताएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सीमा विवाद सम्बन्धी समाचार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको उल्लेख छ । कृषि मन्त्रालयले सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने पनि उल्लेख गरेको परराष्ट्रले विज्ञप्ति मार्फत जनाएको छ ।
त्यस्तै हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको मन्त्रालयले दावी गरेको छ ।प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको परराष्ट्रको भनाइ छ ।
नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रको विज्ञप्तिमा जनाइएको छ । सीमा सम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने पनि परराष्ट्रले बताएको छ ।