एजेन्सी, ११ असार । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा रियल म्याड्रिडले मालोर्कालाई २–० ले पराजित गर्दै शीर्ष स्थानमा पुगेको हो ।
खेलको १९ औं मिनेटमा रियलका भिनिसियसले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । पहिलो हाफमा रियलले १–० को अग्रता लिएको रियल म्याड्रिडले दोस्रो हाफमा पनि आक्रमण जारी राख्यो ।
५६ औ मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै २–० को अग्रता बनाए । जितसँगै रियल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक भएको छ । तर हेड टु हेडको आधारमा रियलले बार्सिलोनालाई उछिनेको हो । मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा नै छ ।




