काठमाडौ, ८ असार । सरकारले बैंकिङ क्षेत्र लगायत निजी क्षेत्रमाथि अख्तियारले निगरानी गर्नेगरी विधेयक ल्याएपछि उद्योगी व्यवसायीहरुले विरोध जनाएका छन् । निजी क्षेत्रमाथि समेत निगरानी गर्ने अधिकार सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयक राष्ट्रिय सभामा छलफलमा छ ।
बिधेयकमा बैंक, मेडिकल कलेज लगायतका सार्वनजनिक संस्थाहरुलाई अख्तियारले निगरानी गर्ने उल्लेख गरिएको छ । उक्त व्यवस्थाले निजी क्षेत्रमाथि राज्यले संवैधानिक अङ्ग मार्फत नियन्त्रण गर्न खोजेको उद्योगी व्यवसायीको भनाई छ ।
निजी क्षेत्रमा हुने भष्ट्राचार नियन्त्रणका लागि नियामक निकायहरुले काम गरिरहेको अवस्थामा अख्तियारलाई ल्याउँदा निजी क्षेत्र हतोत्साही हुने प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका सांसदको दाबी छ । सत्तारुढ नेकपाका सांसदको भने जनताको पैसासँग जोडिएका क्षेत्रहरुमाथि अख्तियारको निगरानी आवश्यक भएको भनाई छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७६को दफा २ खण्ड ङ को दुईमा सार्वजनिक संस्थाको परिभाषाभित्र निजी कम्पनी,बैंक,मेडिकल कलेज लगायतलाई समावेस गरिएको छ ।