एजेन्सी, ५ असार । स्पेनीस राष्ट्रिय लिग फुटबल ला लिगा अन्तर्गत रियल म्याड्रिडले भ्यालेन्सीयामाथि सहज जित हात पारेको छ । शुक्रबार बिहान घरेलु मैदानमा भएको खेलमा रियलले भ्यालेन्सियालाई तीन शुन्य गोल अन्तरले हराएको हो ।
रियलको जितमा करिम बेन्जिमाले दुई तथा मार्को एसेन्सियोले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा रियालले तीन गोल गर्यो । खेलको ६१ औं मिनेटमा करिम बेन्जिमाले रियाललाई अग्रता दिलाए ।
लुका मोड्रिचबाट आएको बललाई इडेन हाजार्डले मिलाएर बेन्जिमाले गोल गरे । त्यसपछि खेलको ७४ औं मिनेटमा रियलका लागि मार्को एसेन्सियोले दोस्रो गोल गरे । उनले फर्लान्ड मेन्डीको क्रसलाई गोलमा परिणत गरेका थिए ।
त्यसपछि ८७ औं मिनेटमा रियालले अन्तर तीन शुन्यमा पुर्यायो । उसका लागि बेन्जिमाले ब्यक्रिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । जितसँगै रियलले शिर्ष स्थानको बार्सिलोनाको दुरी दुई अंकमा झारेको छ । रियालको २९ खेलमा ६२ अंक रहेको छ भने बार्सिलोनाको ६४ अंक छ ।