सम्पादकीय
काठमाडौं, ३२ जेठ । केही दिन यतादेखि सडकमा आन्दोलनका नाममा केही युवाहरु सडकमा देखिन्छन् । सामाजिक सञ्जालको हवाला दिंदै भ्रष्टाचार र कोरोनाको उपचारमा स्वास्थ्य सामग्रीको अभाव जस्ता समसामयिक देखिने मुद्दालाई लिएर युवा सडकमा देखिन्छन् । आन्दोलनको नाममा सडकमा ओर्लिएका युवाको नेतृत्व कसले गरेको छ थाहा छैन । कुन पार्टी वा संगठनको छत्रछायाँमा युवाहरु सडकमा देखिएका हुन थाहा पाउन सकिएको छैन ।
विभिन्न शीर्षकमा प्ले कार्ड लिएर युवाहरुले मुखमा मास्क लगाएर सहरका मुख्य मुख्यमा ठाउँमा केही प्रदर्शन र कही कतै धर्ना पनि दिएका छन् । नेतृत्वविहीन रुपमा सडकमा ओर्लिएका युवाहरुलाई देख्दा प्रश्न गर्न मन लाग्छ, के आन्दोलन सामाजिक सञ्जालले गर्ने हो ? भीडले गर्ने हो ? या आन्दोलन कुनै संगठन वा विचारले गर्नु पर्छ ? यसको उत्तर आइसकेको छैन, आउनु पर्छ, नआए उत्तर खोजिनु पर्छ । अहिले आन्दोलनको नेतृत्व भीडले गरेको छ ।
संगठन, विचार, र कुनै पार्टीको झण्डा नदेखिइ हुने यस्ता आन्दोलनको जिम्मा कसले लिने ? यदि जिम्मा लिने कोही छैन भने यस्तो आन्दोलनलाई कुत्सित उद्देश्य प्राप्तिको लागि सरकारको विरोधमा परिचालित एउटा भिड हो भनी बुझ्न गाह्रो छैन । कुत्सित उद्देश्यले गरिने यस्ता आन्दोलन कसैलाई खुशी पार्न सडकमा उफ्रिने मात्र हो । यदि यो सत्य हो भने यसलाई भेडातन्त्र भन्न पनि सकिन्छ । देशले अहिले कालापानी क्षेत्रलाई नेपालको नक्सामा समावेश गर्ने राष्ट्रिय मुद्दा उठाएको छ ।
शक्तिशाली छिमेकी देशले दशकौंदेखि हडपेको नेपालको भूमि फिर्ता गर्ने उद्देश्यले सरकारले संविधान संशोधनको आँट गरेको छ । सबै दलले साथ दिएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबै दल एक ठाउँमा उभिएका छन् । राष्ट्रिय एकताको माहौल बनेको छ । यस्तो ऐतिहासिक अवसरमा देशी विदेशीहरु निहुँ खोजेर बसेका छन् । सरकार र पार्टीबीच फुट ल्याउन र जनतालाई सरकारविरुद्ध भड्काउन खोजिरहेका छन् । नेपाल भित्र सानो घटना केही भयो भने पनि के के न भयो भनी तिल जत्रो कुरालाई पहाड बनाउन खोजिरहेका छन् ।
अहिले नेताहरुमा सत्ता स्वार्थ भन्दा राष्ट्रिय स्वार्थ बढीरहेको पाइन्छ । नेपाली राजीतिमा देखिएको अभूतपूर्व एकतालाई देखेर देशी विदेशी शक्ति सशंकित भएका छन् । नेपालमा भएको ठूलो राजनीतिक परिवर्तनपछिको यो तरल अवस्थामा नेपाल भित्रै विभिन्न प्रकारको विचारका साथ गरिने यस्ता सडक उफ्राइले स्पष्ट गरेको छ कि यो कोद्वारा संचालित छ भन्ने कुरा । नेपाललाई आत्मनिर्भर भएको देख्न नचाहने र बजारको रुपमा मात्र देख्न चाहने देश र तिनका एजेन्टहरु अहिले नेपाल र नेपालीविरुद्ध सलबलाइरहेका छन् ।
भारतले जबर्जसस्ती मिचेको नेपाली भूमि राष्ट्रिय स्तरमा राष्ट्रिय एकताका साथ फिर्ता हुन लागेको गर्विलो दिनमा पनि सडक आन्दोलन हुनुलाई कदापी राम्रो मान्न सकिन्न । यसलाई आम नेपालीले रुचाएका छैनन, सन्तुष्ट छैनन् । यदि सडकमा उफ्रिनेहरुले राम्रो नियतले नेपालमा भएको विकृतिको सुधारको लागि सन्देश दिन खोजेका हुन भने उपयुक्त समय कुन हो भनी बुझ्न जरुरी छ । यदि असैह्य भएर दवाव दिन खोजेका हुन भने भ्रष्टाचार हेर्ने निकाय छुटृै छ । उसलाई काम गर्न दिनु पर्छ । कसैलाई अन्याय भएको छ भने देशमा तह तहका न्यायालय छ, त्यहाँ जानुपर्छ ।
राष्ट्रिय मुद्दालाई सरकारले वेवास्ता गरेको जस्तो लाग्छ भने संसदमा अनुभवी प्रतिपक्षी दलहरु पनि छन् । विश्वलाई नै त्रसित पार्ने गरी फैलिएको कोरोना संक्रमणले नेपाललाई पनि गाँजेको बेला सडकमा विभिन्न नारासहित उफ्रनु के का लागि हो ? आम जताले बुझ्नु पर्छ । यसतर्फ सरकार र राजनीतिक दल तथा तिनका संगठनको पनि ध्यान जानु जरुरी छ ।