काठमाडौं, ३० जेठ । सरकारले दुई सयभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्लामा फेरि लकडाउन लम्ब्याउन सकिने गरी नयाँ मापदण्ड बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको नयाँ जनस्वास्थ्य मापदण्डमा दुई सयभन्दा बढी संक्रमित भेटिएको जिल्लामा लकडाउन गर्न सकिने भन्दै ५१ जनादेखि दुई सयसम्म संक्रमित देखिएको मध्यम प्रकृतिको जिल्लामा तोकिएको समयमा तोकिएको काम गर्न सकिने जनाइएको छ ।
त्यसैगरी ५१ जनाभन्दा कम प्रभावित जिल्लालाई सुरक्षित मान्दै मन्त्रालयले त्यसक्रममा अपनाउनुपर्ने मापदण्ड तोकेको छ । मन्त्रालयले ‘अत्यावश्यकीय’ भनी वर्गीकरण गरिएका सर्तमा सबै किसिमको जमघट र भेटघाटमा २ मिटरको दुरी अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।घर बाहिर निस्कदा मास्क प्रयोग अनिवार्य गरिएको छ । खोक्दा वा हाछ्यु गर्दा सुरक्षित हुनुपर्नेछ ।
मापदण्डमा कार्यालय आउनेलाई शुरुमा थर्माेमिटरबाट परीक्षण गर्ने अनि १ सय दशमलव ४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएमा काममा नलगाउने भनिएको छ ।
दन्त उपचार सेवा, व्यूटीपार्लर र कपाल काटने सेवामा अनिवार्य मास्क, पञ्जा लगाउनुपर्नेछ ।मुख र घाँटी परीक्षणमा चिकित्सकले अनिवार्य एन ९५ मास्क प्रयोग गर्नुपर्नेछ । सार्वजनिक यातायातमा एककापट्टिको लहरको सिटमा एकजना क्रस गरेर बस्नुपर्ने भनिएको छ ।