एजेन्सी, ४ असोज । ‘डेरा सच्चा सौदा’का सञ्चालक तथा भारतका ‘कथित’ बाबा गुरमीत रामरहीमको एक पछि अर्को कर्तुतको पर्दाफास भईरहेको छ ।
भारतीय मिडिया आजतकले जनाए अनुसार रामरहीमको डेरा सच्चाको सिरसा मुख्यालयको जमिन र खेतमा करीब ६ सय मानव कंकाल भेटिएको छ । डेरा सच्चा सौदाका प्रमुख विपश्यना र उपप्रमुख डा.पीआर नैनले प्रहरीको सोधपुछका क्रममा सो कुरा स्वीकार गरेका हुन् ।
पीआर नैनले पुलिसलाई दिएको बयानमा यदि कसैको मृत्यु भएपछि डेराको जमिनमुनि गाड्दा मोक्ष मिल्ने विश्वास रहँदै आएको बताएका छन् । यद्यपी यो एंगलबाट पनि पुलिसले जाँच गरिरहेको छ ।
डेराका पूर्व सेवकहरुले भने फरक आरोप लगाएका छन् । उनीहरुले भनेका छन् – रामरहीम आफू विरुद्ध बोल्ने र व्यवहार गर्ने मानिसको हत्या गरेर लाशलाई खेतमा अथवा डेरा मुनिको जमिनमा गाड्ने गर्थे । खेतमा गाडेको लाशमाथि विरुवा समेत रोप्ने गरेको आरोप पनि रामरहीममाथि लागेको छ । उनले खेतमा तरकारी फलफूल उत्पादन गरेर प्रसादको नाममा महंगो मूल्यमा बेच्ने समेत गरेका थिए ।
रामरहिम अहिले बलात्कारको मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका छन् ।




