ओली नेतृत्वको सरकारले राजनीतिक र नैतिक आधार गुमायो : देउवा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८३, शुक्रबार

ओली नेतृत्वको सरकारले राजनीतिक र नैतिक आधार गुमायो : देउवा (भिडियोसहित)

deuba

काठमाडौं, २६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सम्बोधन गर्दै देउवाले सरकारका गतिविधिले शासन गर्ने आधार गुमाएको बताउनुभएको हो । उहाँले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, सांसद अपहरण, अध्यादेश लगायतका प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक र नैतिक आधार गुमाएको उल्लेख गर्नुभयो ।

देउवाले अहिलेको अभिभारा कोरोनाविरुद्ध राष्ट्रिय एकता गरेर अगाडि बढ्ने भन्ने रहेको भएपनि सरकार त्यसमा असफल भएको दाबी गर्नुभयो । उहाँले वर्तमान परिस्थितिको संयम भएर सामना गर्न संसदलाई अपील समेत गर्नुभयो । सम्बोधनका क्रममा देउवाले कांग्रेसले सकरारको अधिनायकवादी नियत विरुद्ध निरन्तर लड्ने चेतावनी पनि दिनुभयो ।उहाँले लकडाउको समयमा सरकारले श्रमिक, बेरोजगार, विद्यार्थी तथा सुकुम्बासीलाई आवश्यक राहतको व्यवस्था गर्न नसकेको बताउनुभयो ।

सभापति देउवाले स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार गर्नेलाई र सांसद अपहरणमा संलग्नलाई पदमुक्त गर्न समेत सरकारसंग माग गर्नुभयो। देउवाले विदेशमा रहेका नेपालीलाई उद्धार गर्न आवश्यक व्यवस्थापन गरि त्यसको योजना संसदमा पेश गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।