पूर्वआइजिपी खनाल : अख्तियारको यात्रा, म्यारियटको बाटो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पूर्वआइजिपी खनाल : अख्तियारको यात्रा, म्यारियटको बाटो

igp sarbendra khanal

काठमाडौं, १२ वैशाख । समाजवादी पार्टी फुटाउने खेलमा सांसद डा.सुरेन्द्र यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएर होटेलमा राख्ने गतिविधिमा पूर्वआइजिपी सर्वेन्द्र खनाल पर्दापछाडि होइन, ‘फ्रन्टलाइन’मै संलग्न भए । उनलाई नजिकबाट चिनेका प्रहरी अधिकृत भन्छन्– उनको वास्तविक अनुहार यही हो ।

सत्तारुढ दलका सांसदसँग मिलेर समाजवादीका सांसद डा.यादवलाई लिन मंगलबार महोत्तरी गएका हुन् । मनोवैज्ञानिक त्रास र प्रधानमन्त्रीलाई भेट्ने आश्वसन दिएर रातारात यादवलाई काठमाडौं त ल्यायो । तर, यादवले योजनामा साथ दिएनन् । बरु, खेल उल्टाइदिए । एसपी हुँदा खनाल जनकपुरमा कार्यरत थिए । त्यही वेला उनको यादवसँग चिनजान भएको थियो । त्यसकारण नेकपाका सांसदले खनाललाई प्रयोग गरेका हुन् ।

विपत्को वेला फोहोरी राजनीतिक खेलमा लागेर खनालले व्यक्तिगत स्वार्थ पूरा गर्न लागेको जानकारहरू बताउँछन् । ‘अवकाश पाएपछि उनी शक्तिको भोकले छटपटिएका छन्,’ उनीनिकट स्रोत भन्छ, ‘यही खेलमा लागेर प्रधानमन्त्री र नेकपाका केही नेताहरूलाई खुसी बनाएर नियुक्ति खाने उनको दाउ छ ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्तिका लागि खनालले लबिङ गरिरहेका छन् । एक अवकाशप्राप्त प्रहरी महानिरीक्षक भन्छन्, ‘उनको हर्कतले हामीलाई समेत लाज भयो, यस्ता व्यक्ति संवैधानिक आयोगमा पुगे भने के मात्र बाँकी राख्लान् ?’

खनालले भने सांसद यादव आफ्नो साथी भएको र लकडाउनमा फसेकाले ल्याउन गएको ‘हास्यासपद’ तर्क गरेका छन् । यादवलाई मारियट होटेलमा ल्याएर छाडेको भने उनले स्वीकार गरेका छन् । उनीसँगै गएका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठले भने नयाँ पार्टी गठनमा सहयोग गर्नकै लागि आफूहरू लिन गएको बताएका छन् ।

पूर्वमहानिरीक्षक खनालको हर्कतले प्रहरी संगठनकै शिर निहुरिएको बहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकारीहरूले बताएका छन् । ८० हजार प्रहरीको नेतृत्व सम्हालेको व्यक्तिले यस्तो गतिविधि देखाउँदा प्रहरीमाथि नै यसको दोष लागेको एक पूर्वप्रहरी महानिरीक्षकको टिप्पणी छ । नाम नराख्ने सर्तमा ती महानिरीक्षक भन्छन्, ‘उनी पहिलेदेखि नै नेताहरूसँग मिलेर यस्ता गोप्य रूपमा फोहोरी खेलमा रमाउने व्यक्ति हुन्, आज बाहिरिएको मात्र हो ।’

पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्, ‘यदि उहाँले यस्तो काम गर्नुभएको हो भने यसले प्रहरी संगठनकै बदनाम गराएको छ, विभागीय प्रमुख भइसकेको व्यक्तिबाट यस्तो काम हुन नपर्ने हो ।’ खनाल अवकाशप्राप्त भए पनि उनीसँग नेपाल प्रहरीका तीन बहालवाल प्रहरी अधिकारी छन् । जो उनीसँगै हिँड्छन् । जसकारण पनि यसमा प्रहरीसमेत बदनाम भएको हो ।

अहिले पार्टी फुटाउने खेलमा सरकारलाई सघाउनुको पछाडि सकेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त हुने खनालको चाहना छ । त्यही अख्तियारमा उनीमाथि छानबिन चलिरहेको छ ।

दुई आर्थिक वर्षमा प्रहरीले गरेका छानबिनमा अनियमितता भएको भन्दै उजुरी परेको थियो । खरिदसम्बन्धी कागजपत्र नियन्त्रणमा लिएर आयोगले छानबिन गरिरहेको छ । दुई अर्बभन्दा धेरैका खरिदमा प्रशस्तै कैफियत भेटिएको छ । तर, दबाबकै भरमा छानबिन अघि बढाइएको छैन । प्रहरीका लागि कमसल कपडालगायत बन्दोबस्तीका सामान खरिद गरिएको थियो । कतिसम्म भने पहिलोपटक गुणस्तरमा फेल भएका सामानलाई फेरि अर्को परीक्षण गरी त्यही सामान स्वीकार गरिएको थियो । साथै स्कर्टिङ मोटरसाइकल तथा पाँचवटा वाटर क्यानन पनि उच्च मूल्यमा खरिद गरिएको भन्दै आयोगले छानबिन गरिरहेको छ ।

खनालका कतिपय विवादास्पद गतिविधि विगतमा पनि देखिएका हुन् । ०६५ सालमा खनाल काठमाडौं परिसरका प्रमुख थिए । त्यतिवेला बागबजारमा गुन्डानाइके कुमार घैँटे भनिने कुमार श्रेष्ठ डान्सबार चलाउँथे । खनाल पक्राउ गर्न आएको थाहा पाएपछि वियरको बोतलले गाडीमा हानेर भागे ।

त्यसको बदला उनले आठ वर्षपछि लिए । २ भदौ ०७३ मा खनालकै निर्देशनमा श्रेष्ठमाथि गोली हानिएको थियो । उनी अपराध महाशाखामा हुँदा घैँटे मारिएका थिए । दोहोरो भिडन्त भनिए पनि छोरीलाई विद्यालय पु(याएर भर्खंदा घरअगाडि गोली हानेर उनको हत्या भएको थियो । त्यतिवेला घैँटेमाथि कुनै मुद्दा नभएकाले प्रतिशोधकै लागि फेक इन्काउन्टर गरिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

कुमार पौडेल इन्काउन्टरमा कारबाहीको सिफारिस अलपत्र

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई ‘इन्काउन्टर’का नाममा प्रहरीले पक्राउ गरी हत्या गरेको राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन महानिरीक्षक खनालसहितलाई कारबाहीको सिफारिस गरेको थियो । गत ५ कात्तिकमा भएको सिफारिस अहिलेसम्म अलपत्र छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा सर्लाहीमा मृतकका परिवारले हुलाकमार्फत जाहेरी दिएका छन् । खनालकै निर्देशनमा पौडेलमाथि गोली हानिएको खुलेपछि उनलाई समेत कारबाहीको सिफारिस भएको हो । कारबाहीका लागि आयोगले ताकेतासमेत गरिसकेको छ ।

गोली प्रहारमा संलग्न इन्स्पेक्टर कृष्णदेवप्रसाद साह र हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई प्रहरी महानिरीक्षक खनालले प्रत्यक्ष रूपमा खटाएका थिए । जिल्ला र प्रदेशका प्रहरीका हाकिमलाई समेत पछि मात्र थाहा भएको र तत्कालीन महानिरीक्षककै निर्देशन भएको भन्दै आयोगले उनलाई समेत कारबाही गर्न भनेको थियो ।

गत ५ असारमा सर्लाहीको लालबन्दी नगरपालिका– १ लखन्देही जंगलको एकान्तमा पौडेलको गोली हानी हत्या भएको थियो । गोली प्रहारमा संलग्न इन्स्पेक्टरसहित तीनजना प्रहरी प्रधान कार्यालयबाट खटिएका थिए । प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहने गरी उनीहरू खटिएका थिए । आयोगसँगको बयानमा प्रहरी महानिरीक्षक खनालकै निर्देशनमा आफूहरू सो ‘इन्काउन्टर’मा खटिएको बयान दिएका थिए । आयोगले आइजिपीको नाम उल्लेख नगरी निर्देशन दिनेलाई कारबाही गर्न विज्ञप्तिमा भनेको छ ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा फिल्डमा खटिएका प्रहरीको अनुसन्धानमा त्रुटि नभएको बरु डिएनए परीक्षणमा कमजोरी भएको छानबिनबाट खुलेको छ । प्रहरी नेतृत्वकै व्यवस्थापकीय कमजोरीमा यो अनुसन्धान असफल भएको अहिले देखिएको छ ।

भीडको निर्देशनका आधारमा आलोचनाबाट जोगिन प्रहरी नेतृत्वले अनुसन्धान अधिकृतहरूलाई बर्खास्तसम्मको कारबाही गरेको थियो । जब कि कुनै पनि प्रहरीको नियतवश गल्ती देखिएको थिएन । गृह मन्त्रालयको विज्ञ समितिले गरेको छानबिन र त्यसपछि प्रहरी प्रधान कार्यालयकै एक छानबिनमा विगतमा पक्राउ परेकै व्यक्ति आरोपी हुन सक्ने औँल्याइएको छ । उनको कमजोर नेतृत्वले अपराध अनुसन्धानमा खटिएका देशभरिका प्रहरीको मनोबल गिराउने काम भएको थियो । इन्स्पेक्टरदेखि नै उनी अत्यधिक महत्वाकांक्षी रहेको र आफ्नो महत्वाकांक्षा पूरा गर्न जे पनि गर्न तयार हुने गरेका उनका सहकर्मीहरू बताउँछन् ।

अन्य ठूला अनुसन्धानमा पनि उनको विवादास्पद भूमिका देखिएको थियो । अफताब आलम पक्राउ प्रकरण रौतहट प्रहरीले नभई आफ्नो टोलीले पक्राउ गरेको बताएर संगठनमा चेक अफ कमान्डकै धज्जी उडाएका थिए । उद्धारको नाममा पर्यटकहरूमा संगठित रूपमा भइरहेको ठगीको अनुसन्धान उनकै दबाबमा रोकिएको सिआइबी स्रोत बताउँछ । कृष्णबहादुर महरा मुछिएको बलात्कार मुद्दामा सुरुमा प्रहरीले लुकाउन चाहेको थियो, पछि मिडियामा आएपछि प्रधानमन्त्रीको निर्देशनमा प्रहरीले अनुसन्धान गरेको थियो ।

सांसद यादवलाई जनकपुरबाट काठमाडौं ल्याएको घटनामा अपहरण मुद्दा चल्न पर्याप्त प्रमाण भएको प्रहरी अधिकारीहरू बताउँछन् । सांसद यादवले अपहरण नै भएको बताएका छैनन्, तर आफूलाई काठमाडौं आउँदा दबाब दिइएको बताएका छन् । उनले जाहेरी दिएमा अन्य प्रमाणहरू प्रशस्त छन् ।

मुकुकी अपराध संहिताको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा दफा २११ मा भनिएको छ, ‘कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोरजुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरिरहेको सवारीसाधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यसउपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा,’ अपहरण गरेको मानिनेछ भन्ने उल्लेख छ । सांसद यादवलाई धम्क्याएर नभई छलकपट गरेर ल्याइएको हुनाले अपहरण मुद्दा आकर्षित हुने प्रहरी अधिकारीहरू बताउँछन् । अनिच्छा देखाउँदा पनि पटकपटक आग्रह र प्रधानमन्त्रीबाट फोन गर्न लगाएर उनलाई अर्को गाडीमा राखेर ल्याइएको थियो ।

मुद्दा चल्नकै लागि यादवले उजुरी दिनुपर्ने हुन्छ । त्यसपछि कलवाइज लोकेसन, सिसिटिभी फुटेज, यादवका पिएसओ तथा अन्य सहयोगीको बयान आदि यो घटना पुष्टि हुने आधार छन् । उताबाट ल्याएर आफैँले बुक गरेको होटेलमा बन्धकजस्तो बनाएर राख्नुले समेत थप प्रमाण दिन्छ । बिहीबार बिहान आफू उम्केर पार्टीको सम्पर्कमा पुगेको सांसद यादवले अन्तर्वार्तामा बताएका छन् । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलगायतले खनालमाथि समेत कारबाही गर्न माग गरेका छन् । पार्टी फुटाउनका लागि सांसद यादवको मोबाइलसमेत अफ गराइएको थियो भने अर्को गाडीमा राखिएको थियो । नेकपाकै नेताहरू भीम रावल, रामकुमारी झाँक्रीलगायतले समेत घटनाको अनुसन्धानको माग गरेका छन् । नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);