मंगलबार साँझ : पूर्वआइजिपीले बालुवाटारबाटै फोन गरे, बुधबार मध्यरात : सांसदले बाटोबाटै प्रधानमन्त्रीसँग संवाद गराए | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

मंगलबार साँझ : पूर्वआइजिपीले बालुवाटारबाटै फोन गरे, बुधबार मध्यरात : सांसदले बाटोबाटै प्रधानमन्त्रीसँग संवाद गराए

dr-surendra-kumar-yadav

काठामडौं, १२ वैशाख । हाम्रो पार्टी विभाजन गराउने योजना सतहमा अहिले आयो, खेल पुरानो हो । उपेन्द्र यादवजी स्वास्थ्यमन्त्री र म राज्यमन्त्री थियौँ । एउटै मन्त्रिपरिषद्को सदस्य भएर पनि मैले व्यक्तिगत रूपमा प्रधानमन्त्रीलाई भेटको थिइनँ । प्रधानमन्त्रीको उपचारमा जोडिनुभएको एकजना डाक्टरले मलाई पहिले नै प्रधानमन्त्रीसँग भेटाउन खोज्नुभएको थियो । तर, मैले मैले पार्टी अध्यक्षलाई नसोधी छुट्टै भेट्नुहुन्न भनेको थिएँ ।

हामी सरकारमा थियौँ । तर, संघीयता कार्यान्वयन र मन्त्रालयको कामको विषयलाई लिएर प्रधानमन्त्री र हाम्रो पार्टीअध्यक्ष तथा तत्कालीन उपप्रधानमन्त्री उपेन्द्र यादवबीच राम्रो सम्बन्ध थिएन । आफूसँग टकराव गरेको भनेर उपेन्द्रजीसँग प्रधानमन्त्री रिसाउनुभएको थियो । त्यसैले प्रधानमन्त्री योजनाबद्ध रूपमा हाम्रो पार्टी फुटाउन चाहनुहुन्थ्यो । तर, इस्तियाक राईको भने प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध थियो । मन्त्रालयमा काम पनि गर्न दिनुभएको थिएन । त्योवेलादेखि नै पार्टीभित्र रेणु यादव असन्तुष्ट हुनुहुन्थ्यो । अध्यक्षले आफूलाई सम्मान दिनुभएन भन्नुहुन्थ्यो । त्यसैले पनि प्रधानमन्त्रीलाई खुसी बनाएको थियो ।

कोरोना संक्रमण रोकथाम गर्न पहिलोपटक लकडाउन हुने भएपछि म त्यसै राति गाउँ गएको हुँ । मेरो निर्वाचन क्षेत्र महोत्तरी– ४ मा ग्रामीण भेग धेरै छ । स्वास्थ्यको राम्रो अवस्था छैन । संकटको वेला गाउँमा केही गर्नुपर्छ भन्ने सोचेर म जिल्ला गएको थिएँ ।

अस्ति मंगलबार साँझपख आइजीसाब (पूर्वआइजिपी सर्वेन्द्र खनाललाई सांसद यादवले यो संवादमा सबै ठाउँ आइजीसाब भनेका छन्)ले फोन गर्नुभयो । डाक्टरसाब कहाँ हुनुहुन्छ भन्नुभयो । गाउँ (महोत्तरी)को घरमै छु भनेँ । उहाँले भेट्नु थियो भन्नुभयो । ठीकै छ, लकडाउनपछि काठमाडौं आउँछु अनि भेटौंला भने । तर, उहाँले प्रधानमन्त्री निवास बालुवाटारबाट फोन गरेको छु, प्रधानमन्त्रीले तपाईंको सहयोग खोज्नुभएको छ भन्नुभयो । देशको प्रधानमन्त्रीलाई किन नभेट्ने, उहाँले सहयोग माग्नुभयो भने किन नगर्ने ? एउटा सांसदको रूपमा पनि उहाँलाई सहयोग गर्नु मेरो कर्तव्य नै हो भनेर मैले जवाफ दिएँ । तर, अहिले त लकडाउन छ, खुलेपछि आउँछु भनेर दोहोर्‍याएँ । तर, उहाँले तपार्ईंहरूले प्रधानमन्त्रीलाई सहयोग गर्ने परिस्थिति अहिले नै आएको छ भनेर फोन राख्नुभयो ।

बुधबार बिहान ९ बजेतिर आइजीसाबले फेरि फोन गर्नुभयो । तपाईंलाई भेट्न खोजेको छु भन्नुभयो । म त जनकपुर जाँदै छु भनेँ । किनकि मेरो सालाको छोरो जन्मिएका थियो, त्यसैले मैले श्रीमतीलाई लिएर जनकपुर जाने तयारी गरेको थिएँ । त्यति मात्र होइन, कोभिड–१९ विरुद्ध प्रदेश २ सरकारले बनाएको समितिमा म पनि सल्लाहकार छु । त्यसैले पनि म जनकपुर आवतजावत गरिरहन्छु ।

तर, उहाँले सीधै म त महोत्तरीमा छु, तपाईंको घर आउँछु भन्नुभयो । उहाँ त्यतिञ्जेलसम्म बर्दिबास आइसक्नुभएको रहेछ । उहाँ जनकपुरमा एसपी हुँदादेखिकै सम्बन्ध हो । बर्दिबास आइपुगेको छ, एकैछिनमा घरै आइपुग्छु भन्दा मैले नाइँनास्ती गर्ने कुरै भएन । फेरि महोत्तरीको एसपीलाई भनेर उहाँहरूले मेरो पिएसओमार्फत म कहाँ छु भन्ने जानकारी पनि लिइसक्नुभएको रहेछ ।

करिब आधा घन्टामा उहाँ घरमै आइपुग्नुभयो । फोनमा त आइजीसाबसँग मात्र कुरा भएको थियो । तर, घरमा त महेश बस्नेत माननीय, किसन श्रेष्ठ माननीय पनि आउनुभएको थियो, अर्को एकजना ड्राइभिङ सिटमा समेत हुनुहुन्थ्यो ।

उहाँहरूलाई मैले स्वागत गरेँ । म पनि सांसद भएकाले उहाँहरूसँग चिनजान थियो नै । तपार्ईंहरू घरमा आउनुभयो, खुसी लाग्यो भनेँ । पूर्वसूचना दिनुभएको भए मिठोमसिनो खाना बनाउँथे भनेँ । उहाँहरूले खाना छोड्नुस्, बरु बारातिर जाऊँ, उतै बसौँला भन्नुभयो । बारामा हाम्रो सांसद साथी रामबाबु यादव हुनुहुन्छ भन्नुभयो ।

त्यसले मलाई चिसो बनायो । त्यसैले खाना बनाउन भन्छु भनेर भुइँ तलामा झरेँ । अलिक बाहिर गएर डा.बाबुराम भट्टराईलाई फोन गरेँ । घटनाक्रम सबै बताएँ । घटनाको पहिलो सूचना मैले उहाँलाई नै दिएँ । म संकटमा छु, तपार्ईंले आफ्नो काम गर्नुहोला भनेर आफ्नो नम्बर पनि दिएँ । फर्किएर उहाँहरूसँग कुराकानी गर्न थालेँ ।

दुईजना सांसद पाहुना आएको वेला राजनीतिक कुरा हुने नै भए । महेश माननीयले भन्नुभयो, ‘देशले तपार्ईंको सहयोग चाहेको छ । यसले तपाईंलाई पनि राम्रो हुन्छ । यसका लागि तपाईंसँग भेट्न प्रधानमन्त्रीज्यूले नै हामीलाई जिम्मा दिनुभएको हो ।’ किसन माननीयले पनि त्यही कुरा दोहोर्‍याउनुभयो । नयाँ पकिा दैनिकमा नेत्र पन्थीले समाचार लेखेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);