काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयमा दिइने शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मङ्गलबार नील बाराही स्कुलको ६४ औँ हिरक महोत्सव तथा वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयमा दिइने शिक्षाको गुणस्तरमा विशेष सुधारको आवश्यकता औँल्याउनुभएको हो । साथै उहाँले अभिभावकहरुलाई पनि सामुदायिक विद्यालयको शिक्षालाई प्रभावकारी र प्रतिष्पर्धी बनाउने कार्यमा साथ दिन आग्रह गर्नुभयो । सामुदायिक विद्यालयमा अब पूर्णतः वैज्ञानिक प्रविधिमार्फत शिक्षा प्रदान गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड थियो ।
सो समारोहमा शिक्षामन्त्री गोपालमान श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तर खस्कँदै गएको स्वीकार गर्नुभयो । सामुदायिक विद्यालयको गुणस्तर खस्किएकै कारण मुलुकमा विरोजगार युवाको संख्या बढीरहेको शिक्षामन्त्री श्रेष्ठको भनाइ थियो ।
नील बाराही स्कुलमा हाल १ हजार विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयको वार्षिक बजेट १ करोड ६५ लाख भन्दा बढीरहेको र वार्षिक खर्च १ करोड ३५ लाख ८४ हजार रहेको विद्यालयले जानकारी दिएको छ ।