काठमाडौं, ७ वैशाख । बीमा समितिले आइतबारदेखि औपचारिक रुपमा कोरोना भाइरस सम्बन्धी बीमालेख जारी गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले आइतबार कोरोना भाइरस रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक सुरुवात गर्नुभएको हो ।
अध्यक्ष चापागाईंले कोरोना भाइरस महामारीको रुपमा आएको र सानो रकमबाट भएपनि संक्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस भन्ने उद्देश्यले बीमालेख जारी गरिएको बताउनुभयो । उहाँले कोरोना भाइरस संक्रमण पछिको उपचार सरकारले गर्ने भएपनि संक्रमित व्यक्तिको आर्थिक स्थितिलाई ध्यान दिएर बीमा लेख जारी गरिएको उल्लेख गर्नुभयो ।
अध्यक्ष चापागाइँले कुनैपनि नेपाली नागरिक, परिवार एवं संस्थाले आफ्ना सदस्यहरुको व्यक्तिगत वा समुहिक बीमा गर्न सक्ने उल्लेख गर्नुभयो ।उहाँले लकडाउनको अवस्थामा पनि सजिलै योजना खरिद गर्न सकिने बताउनुभयो । इन्टरनेटको पहुँच नभएको ठाउँमा समेत निर्जीवन बीमा कम्पनीहरुले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत बीमा विक्री गर्ने व्यवस्था मिलाइएको छ ।
बीमा योजना खरिद गरेको १५ दिन पछि एक वर्षसम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण भएको प्रभाणित भएमा बीमा दाबी गर्न सकिनेछ । अध्यक्ष चापागाइले बीमालेखलाई दुई श्रेणीको बीमाङ्कमा कायम गरिएको बताउनुभयो । पहिलो बीमालेख १ लाख रुपैयाँको बीमाङ्कको छ भने उक्त योजना खरिद गर्नका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ लाग्ने छ ।
यस्तै परिवार वा संस्थागत रुपमा बीमा गरिए प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने छ । यस्तै दोस्रो बीमालेख ५० हजार रुपैयाँको छ । उक्त बीमालेख खरिद गर्न प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामुहिक बीमा गर्न प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्ने छ ।