एकै टहरामुनि डायलाइसिस गर्ने १२ बिरामी : छाक टार्न माम छैन, औषधि किन्न दाम छैन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

एकै टहरामुनि डायलाइसिस गर्ने १२ बिरामी : छाक टार्न माम छैन, औषधि किन्न दाम छैन

dailasis

काठमाडाैं, ३० चैत । काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रछेवैको सानो टहरामा एक दर्जन मिर्गौला बिरामीको वास छ । शनिबार पुग्दा उनीहरू आँगनमा साँझपखको घाम तापिरहेका थिए । अधिकांश बिरामीको अनुहार सुन्निएको छ । साताको दुईपटक गरेर आठ घन्टा नियमित डायलाइसिस गर्नुपर्ने उनीहरूले लकडाउनपछि चार घन्टा मात्रै सेवा पाइरहेका छन्, जसले गर्दा रोगले च्याप्दै गएको छ । बिरामीका कुरुवा र परिवारका सदस्यलाई यसले थप पिरोलेको छ ।

यिनैमध्येकी एक हुन् रुकुम ज्यामिरकोटकी मीना मल्ल । १४ वर्षीय छोरो गणेशको नियमित डायलाइसिस गराउन उनी दुई वर्षदेखि श्रीमानसँगै बसिरहेकी छिन् । गणेशको एउटा मिर्गौला काम नलाग्ने भएपछि यसअघि नै निकालिसकिएको छ । बचेको अर्को मिर्गौला डायलाइसिसको भरमा चलेको छ । तर, लकडाउनयता डाइलाइसिस सेवा पनि आधा मात्रै पाउन थालेपछि आमा मीनाको मन अत्तालिएको छ । ‘कोठाबाट बाहिर निस्कन पनि मन लाग्दैन । न निद्रा लाग्न, न खाना रुच्छ । चिन्ताले मन मात्रै आत्तिएको छ,’ उनले भनिन् ।

मीनाका छोरालाई दुई वर्षअघिको फागुनमै मिर्गौलाको समस्या देखिएको थियो । तर, मेसो पाइनन् । श्रीमान् परु मल्ल रोजगारीका लागि भारतमा थिए । गाउँमा भएजति धामी, झाँक्री सबैलाई देखाइन्, तर उनीहरूले सन्चो बनाउने सम्भवै थिएन । रोगले च्याप्दै गएपछि एक रात त उनका छोरा बेहोस नै भए । ‘रातिको २ बजे छोरो बेहोस भएर मरेजस्तै भयो,’ मीनाले सम्झिइन्, ‘मसँग मोबाइल त थियो, तर अरूको नम्बर लगाउन जान्दिनँ थिएँ । त्यो रात छटपटाएरै बितायौँ । अर्को बिहान छोरालाई तीन घन्टा बोकेर गाडी चढ्ने ठाउँसम्म ल्याएर नेपालगन्ज अस्पताल पुर्‍याएँ ।’

त्यहीँबाट सुरु भयो मीनाको छोरो बचाउने संघर्षको यात्रा । नेपालगन्ज अस्पतालले काठमाडौं रेफर गरेपछि शिक्षण अस्पताल पुगिन् । करिब एक महिना आइसियूमा राखेपछि गणेशलाई होस आयो । छोराले आँखा खोलेपछि मीनाको मन पनि केही हलुँगो भयो । तर, उनको खुसी धेरैबेर टिकेन । डाक्टरले ‘छोराको दुवै मिर्गौला खराब छ, एउटा त झिकेर फाल्नुपर्छ, अर्को फेर्नुपर्छ’ भनेपछि उनी छाँगाबाट खसेझै भइन् ।

मीनासँग डाक्टरले सुझाएको नगर्नुको विकल्प पनि थिएन । जेनतेन एक लाख २५ हजार ऋण काढेर छोरोको बिग्रेको मिर्गौला फालिन् । ‘भएको पैसा नेपालगन्ज र काठमाडौंमा उपचार र आउजाउ गर्दैमा सकिइसकेको थियो,’ मीना दु:खको फेहरिस्त सुनाउँछिन्, ‘हारगुहार गरेर छोराको एउटा मिर्गौला फाल्न ऋण काढेरे पैसा जम्मा गर्‍यौँ ।’ अर्को चुनौती अझै पहाडझै अगाडी नै थियो, मृगौला प्रत्यारोण गर्न पैसाको जोहो गर्नु ।

त्यसयता मीनादम्पतीको बसाइ काठमाडौंमै छ । लकडाउन नभएको भए उनीहरू अहिले छोराको मिर्गौला प्रत्यारोपणका लागि पैसा ऋण खोज्न संघर्ष गरिरहेकी हुन्थे । डाक्टरले मीनाको मिर्गौला छोरालाई दिन मिल्ने बताइसकेका छन् । मिर्गौला दानका लागि सबै जाँच पनि भइसकेको छ । कुरा पैसामा अड्किएको छ । डाक्टरले मिर्गौला प्रत्यारोपण गर्न सात–आठ लाख खातामा ठिक्क पारेर आउनु भनेका छन् । त्यत्रो रकम जुटाउन मिनालाई त्यसै महाभारत छ । झन लकडाउनले छोरोका ज्यान बचाउने सञ्जिवनी डायलाइसिसमा समेत कमी गरिदियो । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);