मेयर नि:शुल्क एम्बुलेन्सको सुविधा छ भन्छन्, रोगीलाई थाहा छैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेयर नि:शुल्क एम्बुलेन्सको सुविधा छ भन्छन्, रोगीलाई थाहा छैन

काठमाडाैं, २ वैशाख । धोबीघाटमा भेटिएका मिर्गौलाका बिरामी गोविन्द परियारले भने–बिहानै ४:३० बजे डेराबाट हिँडेर ७ बजेतिर अस्पताल आइपुग्छु । डायलाइसिस गर्न तीन घन्टा लाग्छ । अनि हिँडेरै फर्किन्छु । के गर्ने एम्बुलेन्स चढ्न पैसा छैन । १२ वर्षसम्म यही रोगको उपचार गर्दा जायजेथा सकियो । ३० लाखभन्दा बढी खर्च भयो । धन्न कान्छी छोरीले बस्ने र हातमुख जोर्ने सहारा दिएकी छे ।

धादिङका ५९ वर्षीय गोविन्द परियारले २५ वर्षसम्म काठमाडौंमा लुगा सिलाउने काम गरे । यही परिश्रमले दुई श्रीमती र सात छोराछोरी हुर्काए, गरिखाने बाटो देखाइदिए । तर, परियार जब मिर्गौलाको बिरामले थलिँदै गए, आफ्नै सन्तान टाढिन थाले, सहयोग गर्न छाडे । पैतृक सम्पत्ति बेच्दै १२ वर्षसम्म काठमाडौंका विभिन्न अस्पताल धाए । सम्पत्ति सकियो, तर रोग निको भएन ।

परियारले केही वर्षदेखि नियमित डायलाइसिस गर्दै आएका छन् । यो सेवा राज्यले निःशुल्क गरिदिएको छ । काठमाडौंमा बस्ने सहारा कान्छी छोरीले दिएकी छिन् । तर, अहिले लकडाउनले परियारलाई मार परेको छ । भीमसेनस्थानस्थित डेराबाट डायलाइसिस गराउन ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल पुग्नुपर्छ ।

नियमित अस्पताल जानुपर्ने दीर्घरोगीलाई यो बन्दमा पनि राज्यबाट यातायातको कुनै सुविधा छैन । एक मात्र विकल्प बिरामीले आफ्नै खर्चमा एम्बुलेन्स प्रयोग गर्नु हो । तर, छोरीको डेरामा बसेर उपचार गराइरहेका परियारजस्ता विपन्नलाई एम्बुलेन्स आँक्नु असम्भव छ । अझ अहिले त पैसा तिर्न सके पनि बिरामी बोक्न एम्बुलेन्सले आनाकानी गर्छन् । त्यसैले, परियार लौरोको सहारामा कान्छी श्रीमती कान्छी परियारको साथमा हिँडेरै अस्पताल जाने गरेका छन् ।

‘बिहानै ४:३० बजे डेराबाट हिँडेर ७ बजेतिर अस्पताल आइपुग्छु । डायलाइसिस गर्न तीन घन्टा लाग्छ । अनि हिँडेरै फर्किन्छु,’ धोबीघाटमा भेटिएका परियारले भने, ‘के गर्ने एम्बुलेन्स चढ्न पैसा छैन । १२ वर्षसम्म यही रोगको उपचार गर्दा जायजेथा सकियो । ३० लाखभन्दा बढी खर्च भयो । धन्न कान्छी छोरीले बस्ने र हातमुख जोर्ने सहारा दिएकी छे ।’

सरकारले डायलाइसिस निःशुल्क गरिदिएकोमा परियारले खुसी व्यक्त गरे, तर यो बन्दमा सरकारले यातायातको सुविधा नदिँदा घन्टौँ हिँड्नुपरेकोमा दुःख बिसाए । परियारको गुनासो सुनेपछि हामीले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई फोन लगायौँ । बिरामीको सास्ती सुनायौँ । महर्जनले यस्ता बिरामीलाई महानगरपालिकाले निःशुल्क एम्बुलेन्स व्यवस्था गरेको बताए ।

‘मुटु, मिर्गौला र उच्च रक्तचापका बिरामीका लागि हामीले नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेका छौँ । एन्फाले दिएको दुईमध्ये एउटा एम्बुलेन्स यस्ता बिरामीका लागि अलर्ट छ । पैसा नलाग्ने नम्बर ११३१ मा फोन गरेर यो सुविधा लिन सक्नुहुन्छ,’ उनले भने ।

तर, महानगरले दिएको सुविधाबारे बिरामीलाई थाहै छैन । न अस्पतालले बिरामीलाई यसबारे जानकारी दिएको छ, न स्थानीय सरकारले सूचना प्रवाह गरेको छ । सुविधा हुँदाहुँदै पनि बिरामीले सास्ती पाइरहेका छन् । विजय कार्कीले नयाँ पत्रिका दैनिकमा खबर छापेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);