केरा नबिकेर नदीमा बगाइयो, खाल्टो खनेर कुखुरा पुरियो, तरकारीबारीमा ट्याक्टर चलाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

केरा नबिकेर नदीमा बगाइयो, खाल्टो खनेर कुखुरा पुरियो, तरकारीबारीमा ट्याक्टर चलाइयो

tarkari nasta

काठमाडाैं, २७ चैत । कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनका कारण देशभरका किसानले तरकारी, फलफूल, दूध तथा कुखुरा नष्ट गर्नुपरेको छ । किसानले कुखुरा खाल्टोमा हालेर नष्ट गर्न बाध्य भएका छन्, केरा नदीमा समेत बगाएका छन् । आत्मनिर्भर हुन लागेको डेरी उद्योगमा ८० प्रतिशतले खपत घट्दा किसान, सहकारी र उद्योगी दूध नष्ट गर्न थालेका छन् । तरकारी बिक्री नभएपछि किसानले बारी जोतेर नष्ट गर्दै छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले लकडाउनका कारण कृषि क्षेत्रले ठूलो क्षति व्यहोरोको आकलन गर्दै राहत प्याकेज घोषणाको अन्तिम तयारी गरेको छ । अर्थ मन्त्रालयसँगको समन्वयमा बजेट र राहतका कार्यक्रम तर्जुमा भइरहेको मन्त्रालयको भनाइ छ ।

लकडाउनका कारण तरकारीले बजार नपाएपछि चितवनका किसानले बारीमा ट्याक्टर लगाएर नष्ट गरेका छन् । भरतपुर महानगरपालिका–६, ब्रह्मपुरका झन्डै ८० भन्दा बढी किसानले खेतमा नै ट्याक्टर लगाएको स्थानीय किसान जनक पाठकले बताए । त्यस क्षेत्रका किसानहरूले मंसिर अन्तिम हप्ता काँक्रो लगाएका थिए । अहिले उत्पादन बढी आउने समय हो । तर, बिक्री नहुँदा बारीमा नै ट्याक्टर लगाएर नष्ट गरेको पाठकले बताए । उनले १ लाख लगानी गरेर १० कट्ठामा लगाएको बेच्ने वेलाको काँक्रो नष्ट गरेका हुन् ।

सोही क्षेत्रका अर्का किसान नवराज बोलखेले पनि १ बिघामा लगाएको काँक्रो नष्ट गरेको बताए । उनले भने, ‘गाउँभरि सबैको काँक्रो छ । सित्तैमा लैजाऊ भन्दा पनि लाने मानिस भएनन् । टाढा लगेर बिक्री गर्न लकडाउनका कारण सम्भव रहेन,’ बोलखेले भने, ‘त्यहाँसम्म पुर्‍याउँदा फेरि खेताला लगाउनुपर्‍यो ।’

सरकारले गरेको लकडाउनका कारण बारीमा परवल, बोडी, हरियो मार्चा, लौका, घिराैंला, भिन्डी, काँक्रो र काउली बेच्नका लागि तयार भए पनि बेच्न नपाउँदा समस्या भएको उनीहरूले गुनासो गरेका छन । जिल्लाको बहुदरमाई नगरपालिका र जगरनाथपुर गाउँपालिकाका विभिन्न गाउँका बारीबाट उत्पादित तरकारी वीरगन्जसहित पोखरीया, मसिहानी, महुवन, डकैला, सुपौली, जानकीटोला, नवकाटोला, सखुबनीया, देवरबानालगायतमा तरकारी बजारमा नपुग्दा किसानहरू मारमा परेका छन् । सरकारले लकडाउनमा एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म पनि आउजाउ गर्न रोक लगाएपछि झनै कठिन भएको अर्का किसान रामबाबु साहले बताए ।

यस्तै, जिल्लाको सदरमुकाम वीरगन्जको ठूलो तरकारी बजार चैत १८ गतेदेखि बन्द छ । सुरुमा वीरगन्जका तरकारी बजार खोल्ने प्रयास गरेपछि स्थानीय प्रशासनले बन्द गराउन निर्देशन दिएकाले समस्या भएको छ । वीरगन्जमा अहिले होम डिलेभरी गर्नेका लागि राति तरकारी गाउँबाट पु¥याउन समस्या भएपछि नसकेको उनीहरूले बताएका छन् ।

भेरी नगरपालिका–१ कालेगाउँका कृषकहरू यातायातका साधन नचल्दा घन्टाैं तरकारी बोकेर सदरमुकाम पुग्ने गरेका छन् । ९ बजेपछि स्थानीय प्रशासनले आवतजावतमा कडाइ गरेका कारण उनीहरू सस्तैमा भए पनि तरकारी बिक्री गरेर फर्किने गरेका छन् । गाडीमा राखेर जिल्लाबाहिर ढुवानी गर्ने गरे पनि अहिले लकडाउनका कारण समस्यामा परेको कृषक दलबहादुर खत्रीले बताए । आफैंले उत्पादन गरेको तरकारी बोकेर केही ठाउँमा बिक्री गरे पनि सबै ठाउँमा बिक्री गर्न नसकिने कृषकहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘बारीमा भारी मात्रामा हरिया तरकारी लटरम्म फले पनि बजारसम्म पुर्‍याउन नसक्दा दुःख खेर गएको छ ।’ नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले समाचार छापेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);