गोपाल झा
महोत्तरी, २५ चैत । विश्वभर महामारीको रुपमा कोरोना भाईरसको संक्रमण फैलिरहेको बेला स्वास्थ्य क्षेत्रमा कामगर्नेहरुलाई सरकारले विभिन्न तवरबाट सहयोग र प्रोत्साहन गरिरहेको छ । तर वर्षाैदेखि महोत्तरी जिल्लाको जलेश्वर अस्पताल भित्र ज्यालादारीमा काम गर्ने ३५ जना कर्मचारीहरुलाई भने व्यवस्थापन समितीले हटाएको छ ।
महोत्तरीको जलेश्वर अस्पताल भित्र ईमेरजेन्सी, टिकट काउण्टर, प्याथोलोजी ल्याब, एक्सरे जस्ता विभागमा करीब ४/५ बर्ष देखी ज्यालादारीमा काम गर्दै आईरहेका कर्मचारीहरुलाई जलेश्वर अस्पताल व्यवस्थापन समितीले विना कुनै जानकारी सेवाबाट हटाएको छ । यस्तो संकटको घडीमा आफुहरुलाई हटाई रोजीरोटी नै खोसिएको कर्मचारीहरुको गुनासो छ । स्वास्थ्य जस्तो संवेदनसिल क्षेत्रमा महामारीको बेला विना पारिश्रमिक सेबा दिन तयार हुँदाहुँदै पनि समितीले नियतबस आफुहरुलाई हटाएको उनीहरुले बताएका छन् ।
एकैचोटी यती ठुलो संख्यामा कर्मचारीहरुलाई हटाईँदा टिकट काउण्टरमा काम गर्ने कर्मचारीलाई एक्लै काम गर्न कठीनाई भईरहेकोले सेवा प्रभावित हुनसक्ने कार्यरत कर्मचारीहरुको भनाई छ । कारोनाको त्रासमा बिरामीको चाप कम भएको कारण आयश्रोत न्युन हुँदा ज्यालादारीमा काम गर्ने कर्मचारीहरुलाई तलब दिन सक्ने अवस्था नरहेको कारण देखाउँदै बाध्यभएर हटाएको अस्पताल व्यवस्थापन समितीले जनाएको छ ।
यता प्रदेश २ का समाजिक बिकास राज्यमन्त्री अभिराम शमाले भने यस विषयमा अहिले सम्म आफुलाई कुनै जानकारी नभएकोले व्यवस्थापन समिती संग जानकारी लिएर मात्र केही भन्न सक्ने बताउनु भएको छ ।
विश्व नै कारोनाको त्रासमा रहेको अवस्थामा सरकारले स्वास्थ्य क्षेत्रमा कामगर्ने स्वास्थकर्मी, चिकित्सक तथा कर्मचारीहरुलाई विभिन्न सुविधाहरु उपलब्ध गराउँदै आएको छ । तर जलेश्वर अस्पताल व्यवस्थापन समितीले भने आफ्नो अनुकुलका कर्मचारी भर्ना गर्ने नियतले एकैचोटी ठुलो संख्यामा कर्मचारी हटाएको बताईएको छ भने जनताले पाउनु पर्ने सेवा समेत प्रभावित भएको छ ।