कोरोना भाइरस रोक्ने योजना प्रतिवेदनसहित उपस्थित हुन सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

कोरोना भाइरस रोक्ने योजना प्रतिवेदनसहित उपस्थित हुन सर्वोच्चको आदेश

SUPREME_COURT

काठमाडौं, २१ चैत । सर्वोच्च अदालतले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि भइरहेको प्रयास र योजनाबारे प्रतिवेदनसहित हाजिर हुन स्वास्थ्यमन्त्रालयका अधिकारीलाई आदेश दिएको छ ।

न्यायाधीश हरि फुँयालको एकल इजलासले आउने आइतबार कोरोना नियन्त्रणमा भएका प्रयास र रोकथामका योजनासहित उपस्थित हुन स्वास्थ्य मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई उपस्थित हुन आदेश दिएको हो ।

सर्वोच्चको आदेशअनुसार आगामी आइतवार पेसी तोकिने कोरोना संक्रमण नियन्त्रणसम्बन्त्री अरु दुई निवेदनको सुनुवाइका दिन मन्त्रालयले गरेको कामको विवरण र योजनासहितको प्रतिवेदन पेस गर्नुपर्नेछ। सर्वोच्च अदालतले गतहप्ताका पुराना दुई निवेदनलाई पनि एकसाथ राख्नु भनी आदेश दिएको छ।

अधिवक्ता मुकुन्द अधिकारीले दर्ता गरेको निवेदनमाथिको थप छलफलका लागि महान्यायाधीवक्ता कार्यालयलाई पनि झिकाएको छ।अधिवक्ता अधिकारीले नियमित रुपमा आकस्मिक स्वास्थ्य सेवा प्रवाह हुनुपर्नेलगायत माग राखी सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।

निवेदनमा कोरोनाको परीक्षण गर्न चाहने व्यक्तिको ४८ घण्टाभित्र परीक्षण गरी प्रतिवेदन दिनुपर्ने, सातवटै प्रदेशबाट परीक्षण व्यवस्था मिलाउनुपर्ने, तोकिएभन्दा बढी ज्वरो आएका सबैको स्वाब परीक्षण गर्नुपर्ने अनि आइसोलेसनको व्यवस्था हुनुपर्ने लगायतका माग छन् ।