काठमाडौं, ७ चैत । कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै उपत्यका छाड्नेहरुको संख्या बढेको छ ।
कोरोनाको जोखिम बढेसँगै सरकार विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने निर्णय गरपछि उपत्यका छाड्नेहरुको संख्या बढेको हो । काठमाडौंको गोंगबुमा रहेको नयाँ बसपार्क लगायत अन्य टिकट काउन्टरहरुमा शुक्रबार घर फर्कन टिकट लिनेहरुको भीड लागेको छ । बसपार्क र काउन्टरहरुमा दशैतिहारमा जस्तै टिकट काट्नेहरुको भिड छ । बसपार्कमा टिकट लिने सर्वसाधारणहरुको संख्या बढेसँगै कतिले टिकट नै नपाएको गुनासो गरेका छन् ।
सरकारले वैशाख ३ गतेसम्म रुट इजाजत खुला गरेपनि अहिले रिजर्भमा जाने बसहरुले महंगो भाडा लिइरहेको गुनासो सर्वसाधारणको छ । बढीभाडा रकम असुल गरिएपनि सम्बन्धित निकायबाट अनुगमन नै नभएको गुनासो यात्रुहरुले बताएका छन् ।





