एजेन्सी, २५ फागुन । ग्रीसले आगामी महिनादेखि शरणका लागि आउने कुनै पनि आवेदन नलिने घोषणा गरेको छ । ग्रीक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले शरणको मागका गर्दै दिइएका आवेदनहरुको कारबाही हाललाई अघि नबढाइने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री मित्सोटाकिसले गैरकानुनी रूपमा ग्रीस प्रवेश गर्न खोज्नेलाई रोक्ने र त्यहाँबाट फर्काइने चेतावनी पनि दिएका छन् । ग्रीक सरकारले २४ घण्टामा झन्डै १० हजार आप्रवासीलाई ग्रीस प्रवेश गर्नबाट रोकिएको जनाएको छ । ग्रीसका प्रधानमन्त्री मित्सोटाकिसले मुलुकले शरणार्थीको भार थेग्न नसक्ने भएका कारण आवेदन नलिने जनाएका हुन् ।
यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो । टर्कीमा ठूलो संख्यामा सिरियाका नागरिक शरणार्थीका रुपमा बसिरहेका छन् । टर्कीमा युरोप प्रवेश गर्न लागेका विभिन्न देशका शरणार्थीहरु बस्ने गरेका बताइन्छ ।