काठमाडौं, २ असोज । पर्यटन व्यवसायीहरुले खुम्बु पासाङल्हामू गाउँपालिका भित्र प्रवेश गर्ने विदेशी पर्यटकलाई २ हजार शुल्क लिने निर्णय फिर्ता लिन दवाव दिएका छन ।
नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दिपक महतले पर्यटन व्यवसायनै धरासायी हुने गरी शुल्क लिने निर्णय गरेको भन्दै फिर्ता लिन खुम्बु पासाङल्हामू गाउँपालिकालाई दवाव दिएका छन् ।
सोमबार सो गाउँपालिकाको निर्णयका सम्बन्धमा छलफल गर्न काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले पर्यटन व्यवसाय नै धरापमा पर्न जाने काम कुनै पनि स्थानीय तहले गर्न नमिल्ने बताए ।
अध्यक्ष महतले स्थानीय तहै पिच्छे विदेशी पर्यटकलाई २ हजारका दरले शुक्ल असुल्ने व्यवस्था गरे नेपालको पर्यटन व्यवसाय समाप्त हुने भएकाले पनि खुम्बु पासाङल्हामू गाउँपालिकाको सो निर्णयको विरोधमा उत्रिनु परेको उनले जानकारी दिए ।
खुम्बु पासाङल्हामू गाउँपालिकाको गत असार २५ गते बसेको गाउँसभाले गाउँमा प्रवेश गर्ने विदेशी पर्यटकलाई २ हजारका दरले प्रवेश शुल्क लिने निर्णय गरेपछि पर्यटन व्यवसायीहरुले त्यसको विरोध गरेका हुन । उनीहरुले त्यसो गरे विदेशी पर्यटकहरु नेपाल नआउने र पर्यटन व्यवसाय नै धरापमा पर्ने चेतावनी समेत दिएका छन् ।