सरकारले जनताको चाहाना र आकांक्षा अनुसार काम गरेर देखाउनुपर्छ : नारायणकाजी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८३, आइतबार

सरकारले जनताको चाहाना र आकांक्षा अनुसार काम गरेर देखाउनुपर्छ : नारायणकाजी

narayankaji shrestha

काठमाडौं, २१ फागुन । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले जनादेश प्राप्त सरकारले जनताको चाहाना र आकांक्षा अनुसार काम गरेर देखाउनुको विकल्प नभएको बताउनुभएको छ ।

राष्ट्रियसभा सदस्यको सपथ लिए लगत्तै बुधबार बसेको राष्ट्रियसभा बैठकमा नवनिर्वाचित सदस्यहरुको तर्फबाट मन्तव्य राख्दै उहाँले वर्तमान सरकारसंग समृद्ध नेपालको कार्यभार पुरा गरेर देखाउनु बाहेक विकल्प नभएको बताउनुभएको हो । उहाँले लोकतान्त्रिक शासन व्यवस्था, स्थिर राजनीतिक अवस्था र जनादेश प्राप्त बहुमत प्राप्त सरकार भएकाले सरकारलाई “यता उता” गरेर बहाना देखाउने छुट नभएको बताउनुभयो ।

उहाँले “लोकतन्त्र भएन भन्न पाईदैन । संक्रमणकाल छ संविधान छैन भन्न पाईदैन । अब बहुमतको सरकार छैन राजनैतिक स्थिरता छैन । राजनैतिक अस्थिरता छ भन्न पाईदैन र अब हामीले व्यवहारमा समृद्ध नेपालको कार्यभार पुरा गरेर देखाउनु बाहेक यताउता गर्ने ठाउँ छैन ।”

राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा रुपान्तरण गरेर व्यवहारमा देखाउनुबाहेक अर्को विकल्प नभएको भन्दै उहाँ त्यसका लागि सरकारको एक्लो प्रयासले नहुने भएकाले सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अतिक्रमित भुभाग फिर्ता, लोकतन्त्रको विकास र विकासको आधारभूत विषयमा सत्तापक्ष, विपक्ष लगायत सामाजिक संघ संस्था, नागरिक समाज सबैमिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

अतिक्रमित भु–भाग फिर्ता गरेर नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने, नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वाधिनताको रक्षा गर्दै नेपाललाई स्वभिमानी राष्ट्रको रुपमा उभ्याउने सवालमा नेपालका सबै राजनीतिक पार्टी नागरिक समाज र पेशागत शक्ति मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले लोकतन्त्रको अभ्यास, रक्षा र विकास तथा प्रतिगतमका सारा अभ्यासलाई असफल पार्न पनि राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो । उहाँले विकासका केही आधारभूत विषयमा पनि सबैको सहयोग, सहकार्य र सहमति आवश्यक रहेको बताउनुभयो ।

बहुमत प्राप्त सरकार र कमजोर प्रतिपक्षीका आ आफ्नै समस्या रहेको भन्दै उहाँले निरंकुश हुने खतराबाट सत्तापक्ष र निरपेक्ष विरोध गर्ने चरित्र बाट प्रतिपक्षी दल माथि उठ्न सक्नुपर्ने बताउनुभयो ।