काठमाडौं, २० फागुन । राष्ट्रिय योजना आयोगले समृद्ध नेपाल र सुखी नेपालीको आधार निर्माण गर्ने रणनीतिक र बृहत प्रभाव पार्ने खालका आयोजनाहरुलाई अगाडि बढाएको छ । १५ औं योजनामा राष्ट्रिय लक्ष्यलाई पुरा गर्ने गरी २५ वर्षे दिर्घकालिन सोच सहितका कार्यक्रमहरु समावेस गरिएको छ ।
गेम चेन्जरका रुपमा लिइएको १८ वटा रुपान्तरणकारी आयोजनालाई पन्ध्रौं योजनामा समावेश गरेकाले दिगो विकासका लागि महत्वाकांक्षी हुने सरोकारवालाहरु बताउँछन् ।
१५ औं आयोजनामा लगानी प्रवद्र्धन, उच्च रोजगारी सिर्जना, व्यापार सन्तुलन र गरिबी तथा असमानता न्युनीकरण गर्ने परियोजनाहरु समावेश गरिएको छ । पूर्वाधार विकास मात्र नभएर सामाजिक विकासका कार्यक्रमहरु पनि उत्तिकै महत्वका साथ राखिएकोछ ।
आयोजनामा रहेका १८ वटा कार्यक्रमको कुल लागत २५ खर्ब रुपैयाँ छुट्याएकाले समाजलाई रुपान्तरण गर्न सकिने आँकलन विज्ञहरुले गरेका छन् । आयोगले राष्ट्रिय गौरवका आयोजनामा २२ वटा आयोजना र उच्च प्राथमिकता आयोजनामा १ सय १७ आयोजनालाई १५ औं योजनामा समावेश गरेको छ ।
यी सबै परियोजनाका लागि करिब ९२ खर्ब २९ अर्ब २९ करोड रुपैयाँ लगानी लाग्ने छ । तर आन्तरिक स्रोत कम भएकाले आर्थिक पाटोमा भने चुनौति नै देखिएकोछ ।
आयोगले कुल गार्हस्थ उत्पादनमा कम्तीमा शून्य दशमलव ५ प्रतिशत योगदान दिने, विषय क्षेत्रगत प्रमुख लक्ष्यमा कम्तीमा २० प्रतिशत योगदान दिन सक्ने, कम्तीमा ४० हजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गरि ४ प्रतिशतमा झार्ने । त्यसैगरी प्रत्येक बर्षको योजना निरन्तरतानै भएपनि गरिबी न्युनीकरण ११ प्रतिशतमा झार्ने लक्ष्य लिएकाले यो योजना सफल हुनेमा राष्टिय योजना आयोगका पूर्व सहसचिव बताउनुहुन्छ ।
हरेक सरकारको पालमा राम्रा योजना सार्वजनिक गर्ने गरिन्छ । तर देशको गरिबी, बेरोजगारी लगायतका समस्या यथावत नै रहेका छन् । त्यसकारण बनेका यस्ता योेजनाहरु कार्यान्वयन नहुँदा सर्वसाधारणको गुनासो र दुखेसो भने संधै रहँदै आएको छ ।
राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजना पारित गरेको हो । १५ औं योजनाले मुलुकलाई समृद्ध र समुन्नत बनाउने संकल्प पनि गरेको छ ।




