धरान, १७ फागुन । २२ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको उपाधिमा मनाङ मर्स्याङ्दी क्लबले कब्जा जमाएको छ ।
धरान रंगशालामा शनिबार भएको फाइनलमा पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधीमा कब्जा जमाएको हो ।
मनाङलाई उपाधि दिलाउन दयानन्द सिंह, निशान लिम्बु र विमल रानाले एक एक गोल गरे । पुलिसका भोला सिलवालले एक गोल फर्काए । मनाङले खेलको दसौं मिनेटमा दयानन्दको गोलमा सुरुआती अग्रता बनाएको थियो ।
उपाधिसँगै मनाङले १० लाख प्राप्त गर्दा उपविजेता पुलिसले ५ लाखमा चित्त बुझायो । यस अघि सेमिफाइनलमा मनाङले भारतको युके एफसीलाई २–० गोल अन्तरले हराएको थियो ।
पुलिसले भने सहिद स्मारक ए डिभिजन लिग च्याम्पिएन मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा ५–४ गोल अन्तरले पराजित गरेको थियो ।