काठमाडौं, १६ फागुन । बिहीवार सवारी दुर्घटनामा परेर घाइते हुनुभएका नेकपा मालेका महासचिव सीपी मैनाली खतरामुक्त रहनु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
बिहीबार झापाबाट काठमाडौंतर्फ आउने क्रममा महोत्तरीको बर्दिबासमा कार दुर्घटनामा परेर घाइते हुनुभएका मैनालीलाई सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो।
उहाँको राजधानीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार मैनालीको थाई बोनको अपरेसन गरिएको र उहाँ खतरामुक्त हुनुहुन्छ ।
दुर्घटनामा घाइते भएका मैनालीका छोरा सरोज, बुहारी पूजा ढुंगाना मैनाली, पाँच वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल सबै जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
झापाबाट काठमाडौं आउँदै गर्दा मैनाली परिवार सवार बा७च २१३० नम्बरको कारलाई बिपरित दिशाबाट गइरहेको ना४च ७६६८ नम्बरको पिकअपले महोत्तरीको बर्दिबास नगरपालिका कालापानीमा विहिबार ठक्कर दिएको थियो ।