एजेन्सी , १६ फागुन । विश्व स्वास्थ्य संगठन डब्लु एच ओले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएको छ । डब्लु एच ओका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएको संचार माध्यमहरुले जनाएका छन् ।
महानिर्देशक गेहब्रेयससले चीन बाहिर फैलिएको संक्रमणप्रति गम्भीर हुनु पर्ने बताएका छन् । इरान, इटली र दक्षिण कोरियामा देखिएको कोरोना प्रकोप धेरै चिन्ताको विषय भएको उनले बताए । तर ’उचित उपाय’ अपनाए प्रकोपलाई नियन्त्रण गर्न पनि सकिने देखिएको डब्लु एच ओले बताएको छ ।
चीनबाहेक हालसम्म ४४ देशमा कोरोनाभाइरसको संक्रमण देखा परेको छ । गत डिसेम्बरको अन्त्यदेखि चीनबाट सुरुभएको कोरोना भाइसरबाट अहिलेसम्म विश्वभरि २८ सय जनाको मृत्यु हुनुका साथै ८० हजारभन्दाबढी कोरोना भएको डब्लु एच ओको तथ्यांक छ ।
यसैबीच जापानका प्रधानमन्त्री शिन्जो आबेले सार्वजनिक विद्यालयहरू १महिना बन्द गर्ने घोषणा गरेका छन् । आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहने छन् । जापानमा दुई बालबालिकासहित थप १३ जनामा कारोना भाइरसको संक्रमण देखापरेपछि उक्त घोषणा गरिएको हो ।