खरिदकर्ता हावि भएपछि नेप्से ३६.०५ अंकले बढ्याे, कारोबार रकममा फेरी पनि नयाँ रेकर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

खरिदकर्ता हावि भएपछि नेप्से ३६.०५ अंकले बढ्याे, कारोबार रकममा फेरी पनि नयाँ रेकर्ड

काठमाडौं, १५ फागुन । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा उतारचढावबीच नेप्से परिसूचक बढेर बन्द भएको छ । खरिदकर्ता र विक्रीकर्ताको चाप परिवर्तन भइरहँदा बजार खुलेको केहीसमयसम्म तिब्र उतारचढाव देखिएको थियो । तर पछि खरिदकर्ता हावि भएपछि नेप्से बढेर बन्द भएको छ ।

शेयर बजारमा परिसूचक नेप्से बिहीबार पनि बढेको छ । कारोबार रकमले फेरी नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूक ३६ दशमलव शुन्य ५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ अंकमा बन्द भएको छ ।

सेन्सेटिभ परिसूचक पनि ११ दशमलव ६३ अंकले बढेर ३ सय ४७ दशमलव ६८ अंकमा बन्द भएको छ । बिहीबार कारोबार रकम ४ अर्ब ४६ करोड ५ लाख ३६ हजार २ सय ५१ रुपैयाँ पुगेको छ । जुन अहिले सम्मकै उच्च कारोबार हो । त्यस्तै १ सय ८० कम्पनीको १ करोड ८ लाख ५९ हजार ६ सय ५६ कित्ता शेयर खरिद विक्री भएको छ ।

पछिल्लो एक महिनामा नेप्से परिसूचक ३ सय २६ दशमलव २९ अंकले बढेको छ । गत माघ १५ गते नेप्से परिसूचक १ हजार ३ सय ५ दशमलव ८८ अंकमा बन्द भएको थियो ।

बजारमा उच्च कारोबार हुनु र शेयरको माग बढ्नुको मूख्य कारण चीनमा देखिएको नोेवल कोरोना भाइरस रहेको केही लगानीकर्ताहरुको भनाई छ । लगानीकर्ता हरिश दाहालले चीनमा कारोना भाइरस देखिएपछि चीनसँग हुने व्यापारिक कारोबार ठप्प भएको र उक्त पैसा शेयर बजारमा आएकाले कारोबार रकम उच्च भएको बताउनुभयो ।

उहाँले दैनिक २ अर्ब भन्दा बढी रकमको आयात चीनबाट हुने गरेकोमा अहिले व्यापार रोकिँदा व्यवसायीहरुले शेयर बजारमा लगानी गरेको तर्क गर्नुभयो । चीनसँगको व्यापार सहज भएपछि शेयर विक्री गरी व्यापार गर्न सजिलो हुने भएकाले पनि त्यस्ता व्यवसायीहरुले आफ्नो पूँजीलाई शेयर बजारमा लगाइरहेका छन् । जसका कारण कारोबाररम दिन दिनै बढेको छ ।

बजारका विश्लेषकहरु भने अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक हुनु, बैंकहरुले शेयरमा लगानी बढाउनु र कम्पनीहरुको वित्तीय प्रगति राम्रो देखिनु नै बजार बढ्नुको मूख्य कारण भएको बताउँछन् ।

शेयर विश्लेषक रुक्मागत काफ्लेले अर्थतन्त्र सकारात्मक भएको अवस्थामा ठूला लगानीकर्ताले शेयर खरिद बढाउँदा बजार सकारात्मक भएको बताउनुभयो । उहाँले कुनैपनि बेला ठूला लगानीकर्ताले विक्री बढाउन सक्ने भएकाले लगानी गर्दा ध्यान दिनुपर्ने समय आएको समेत बताउनुभयो । त्यस्तै अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट बाहिरिने हल्लाका कारण बजारमा कुनै असर नपर्ने तर्क विश्लेषक काफ्लेको छ ।

बजारमा ठूला लगानीकर्ता र म्युचुअल फण्ड कम्पनीहरुले शेयर खरिद बढाएकोले लगातार कारोबार रकमसँगै नेप्से बढेको छ । विश्लेषक काफ्लेले कुनैपनि बेला ठूला लगानीकर्ता र स्पेकुलेसन गर्ने लगानीकर्ताले विक्रीचाप बढाएमा बजार फेरी तल आउन सक्ने र त्यो अवस्थामा नयाँ र साना लगानीकर्तालाई समस्या हुन सक्ने सम्भावना फेरीपनि दोहोरीन सक्ने देखिएको बताउनुभयो ।

बिहीबार नेप्से परिसूचक बढेपनि अधिकांश समूहका सूचकहरु भने घटेका छन् । बैंकिङ, विकास बैंक र उत्पादन तथा प्रशोधन समूहका सूचक मात्र बढेका छन् । बैंकिङ समूह ६ दशमलव १४ प्रतिशतले, विकास बैंक समूह १ दशमलव ९१ प्रतिशतले र उत्पादन तथा प्रशोधन समूह शुन्य दशमलव ५१ प्रतिशतले बढेको छ । त्यसबाहेक ९ वटा समूहका सूचकहरु घटेका छन् ।

बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार २८ करोड ९२ लाख ३७ हजार २ सय ८३ रुपैयाँ, एनआइसी एसियाको शेयर २० करोड ५९ लाख ४६ हजार ५ सय ५ रुपैयाँको खरिद विक्री भएको छ ।

सबैभन्दा बढी एभरेष्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । त्यस्तै नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नबिल बैंक, वोमि माइक्रोफाइनान्सका शेयरधनीले ९ प्रतिशत भन्दा बढीले कमाएका छन् । तर ङादि ग्रुप पावरका शेयरधनी, सिनर्जी पावर र समृद्धि फाइनान्सका शेयरधनीले ६ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);