पोखरा, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा भ्रम छर्न र सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘रियाक्सनल इलिमेन्टहरु’ लागि परेको बताउनुभएको छ ।
गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशस्तरिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
‘संसदमा हामी छलफलका लागि विधेयक प्रस्तुत गर्छौं छलफल गर्न संसदमा त छन् नी विरोधीहरु, विपक्षिहरु त्यहाँ छलफल गरे हुन्छ नी’, उहाँले भन्नुभयो । संसदमा पनि पर्याप्त कुरा नै नभएजस्तो गरी जनतामा भ्रम छरेर सरकारलाई अलोकप्रिय बनाउन ‘रियाक्सनल इलिमेन्टहरु’ थुप्रै रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनतामा भ्रम छर्न, सरकारलाई अलोकप्रिय बनाउन र यस्ता कुराहरुलाई साथ दिने, सहयोग गर्ने रियाक्सनल इलिमेन्टेस थुप्रै छन्, जसले यस्ता कुराहरुलाई मद्दत गरेका छन्, बोकेका छन्, उठाएका छन्, र सहयोग गरेका छन्, कराएका छन्, हिंडेका छन् ।’
देशलाई आवश्यक पर्ने र जनताले पत्याउने सहि नीतिहरु नभइ विगतमा बलिदानपूर्ण संघर्ष गरेका थियौँ भनेर मात्रै जनसमर्थन प्राप्त नहुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
उहाँले सरकारले गरेका कामहरु देखेर विरोधीहरु आत्तिएको समेत बताउनुभएको छ । सरकारले दुरगामी महत्वका साथ असाधारण कामहरु गर्न थालेको उल्लेख गर्दै ओलीले तत्कालिन अवस्थामा पनि समाजलाई आवश्यक रहेको नीति, कार्यक्रम तथा योजनाहरु अगाडी बढाइएको बताउनुभयो ।
उहाँले पार्टी र देशको निर्माण भवितव्यले नबन्ने समेत बताउनुभएको छ । निर्वाचनमा भवितव्यले जनताको अभिमत प्राप्त नगरेको ओलीको भनाई छ ।




