इलाम, ११ फागुन । इलामको रोङ गाउँपालिका–६ सलकपुरलाई गोल्डेन भ्यालीले चिनिन्छ । सुन्तलाको सुन्तलाको ‘गोल्डेन भ्याली’ का नामले परिचित सलकपुर रोगका कारण सुन्तलाबोट मासिँदै गएको छ । एकताका हिउँदमा सुन्तलाले पहेँलपुर देखिने सलकपुर आजभोलि सौन्दर्यता गुम्दै मात्रै गएको छैन स्थानीय कृषक मारमा परेका छन् ।
गाउँका अधिकांशको आर्थिक जीवन सुन्तलामा धानिएको थियो, गोल्डेन भ्यालीले परिचित सलकपुर यतिबेला सुन्तलाको बोट सुक्दै गएपछि करोडौको क्षति भएको छ । सुन्तला बिक्री गरेर स्थानीयको दैनिक चलेको मात्रै थिएन, सुन्तलाका बगैचा अवलोकन गर्न सयो पर्यटक पुग्ने गर्दथे । तर अहिले त्यो अवस्था छैन ।
सुन्तलामा रोग लागेपछि सबै सुन्तला बगैचा खण्डहर हुँदै गएको छ । सलकपुरको तल्लो भेगमा सन्तुला उत्पादन हुनै छाडेको छ । बचेको बोटमा पनि राम्रो फल लाग्न छोडेको कृषक बताउँछन् ।
सलकपुरको सुन्तला बगैंचा अवलोकन गर्न पूर्वी तराई झापासँगै भारतका सिमावर्ती स्थानहरुबाट पर्यटकहरु अवलोकन गर्न आउने गर्दथे । नेपालको झापादेखि भारतका धेरै स्थानबाट पर्यटक अवलोकनका लागि आउने गरेपनि अवस्था अहिले धेरै फेरिएको छ ।
पछिल्लो समय सुन्तला उत्पादन घटेपछि पर्यटकको चहलपहल समेत सुस्ताएको छ । जसका कारण गाँउमा संचालित होमस्टेहरु समेत सुनशान बन्दै गएका छन् । सुन्तला बगैंचा सुक्दै गएपछि ग्रामीण पर्यटनमा असर परेको रोङ गाउँपालिका–६ का वडाध्यक्ष सुवास तामाङले बताउनुभयो ।
आम्दानीको स्रोत सुन्तला नै मासिन थालेपछि रोङ गाउँपालिकाले पनि अध्ययन सुरु गरेको छ । विज्ञलाई बोलाएर गाउँपालिकाले अध्ययन गरिरहेको हो । जसका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का पूर्ववरिष्ठ वैज्ञानिक खड्कभक्त पौडेलले अध्ययन गरिरहनु भएको छ । सलकपुरका सुन्तलामा ‘रिस्ट्रस डिक्लाइन’ सँगै जरा र बोक्रा कुहिने रोग रहेको छ । जसका लागि झोल कम्पोस्ट मल प्रयोग गर्नुपर्ने विज्ञको सुझाव छ ।
कृषि पर्यटनको अब्बल गन्तव्य बन्दै गएको सलकपुरको सुन्तला मासिदै गएपछि स्थानीयको आर्थिक जीवनमा समेत नकारात्मक असर परेको छ ।