काठमाडौं, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने बताउनुभएको छ ।
शनिवार काठाडौंमा आयोजित साक्षात्कारमा बोल्दै सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी विषय जिटुजी सम्झौताबाट मात्र गर्ने भनिएपनि विना ग्लोबल टेण्डर नगरेर कुनै कम्पनीसँग सम्झौता गरेर जाने खालको देखिनु र यहि बिचमा मन्त्रीको अडियो बाहिरिनुले प्रश्न उठेको बताउनुभयो ।
उहाँले यो विषयमा संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको र त्यसको प्रतिवेदन अनुसार हुने बताउनुभयो । उहाँले मन्त्रीले भ्रस्टाचार गरे नगरेको कानूनी छानविन गर्न सरकार दृढ भएकाले अख्तियारले छानविन गर्ने बताउनुभयो ।
नेता गुरुङले पार्टीको केन्द्रीय कमिटीले गठन गरेको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको र एमसीसीका सर्तहरुमा परिमार्जन गरेर मात्र जाने सुझाव दिएकाले पार्टीले छिट्टै निर्णय गर्ने बताउनुभयो । उहाँले सरकारले एमसीसीलाई निरन्तरता दिने प्रतिकृया प्रधानमन्त्री ओलीले दिनुभएपनि पार्टीको निर्णय नै अन्तिम हुने बताउनुभयो ।