अदालतको निर्णयले १२ मुसहर परिवारको विचल्ली | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

अदालतको निर्णयले १२ मुसहर परिवारको विचल्ली

राजविराज, २५ माघ । सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीको डिलमा टाँगिएको एउटा सानो त्रिपालमुनि स्थानीय विनिता सदा परिवारका आठ जनासहित एक सातायता जसोतसो बसोबास गदै छिन्। पोखरीको डिलमाथि चल्ने तीव्र गतिको पछुवा (पश्चिमी) हावाले टाँगिएका पाल कतिखेर उडाउला भने चिन्ताका बीच चुलो बालेर बालबच्चा तथा आफ्ना लागि खाना पकाउने अवस्थासमेत छैन।

माघ महिनाको कठ्यांग्रिदो चिसोले ज्यानै लेला कि भन्ने त्रासका बीच विनितामात्र नभई १२ परिवारका करिब सयभन्दा बढी गरिब, असाहय मुसहरहरू यतिखेर पोखरीको डिलमा पाल टाँगेर बस्न बाध्य भएका छन्।

सप्तरी जिल्ला अदालतले गत मंगलबार गरेको आदेशानुसार गत शनिबार दिउँसो सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका १२ मुसहर परिवारको बस्ती डोजर लगाएर भत्काइयो। स्थानीय रामबहादुर मण्डलले बस्ती बसेको जग्गा आफ्नो नाममा रहेको भन्दै अदालतमा गरेको रिटमाथि अदालतले यसरी बस्ती खाली गराउने आदेश दिएको हो। अदालतको आदेशपश्चात् शनिबार दिउँसो डोजर प्रयोग गरी मुसहरहरूको घर भत्काइएको थियो।

आफूहरू तीन पुस्तादेखि बसोबास गर्दै आएको बस्ती पूर्व जानकारीबिना नै भत्काइएका कारण खाद्यान्न र अन्नपातसमेत निकाल्न नपाउँदा सीमान्तकृत मुहसर परिवारको दिनचर्या कष्टकर बनेको हो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।