काठमाडौं, २० माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल विरुद्ध ५ वटा मुद्दा दायर गरेको छ ।
आयोगले सोमबार विशेष अदालत काठमाडौंमा ४ वटा घुससम्बन्धी र एउटा अनुगमनमै नगइ भत्ता बुझेको आरोपमा मुद्दा दायर गरेको हो । आयोगद्वारा जारी विज्ञप्तिमा रिजालले आफ्नो कार्यक्षेत्रभित्रका बिभिन्न मुद्दा कारागारको डरत्रास देखाएर फरक फरक सेवाग्राहीसँग पटक–पटक गरी ५० हजार, ९०, हजार, ३५, हजार, र ४ लाख लिएको पाइएको उल्लेख छ ।
त्यस्तै रिजाललाई अनुगमनमा नै नगई कार्यालय बसेर अनियमित तरिकाले ७७ हजार ६ सय बुझेको आरोप पनि मुद्दामा लगाइएको छ । आरोपपत्रमा जम्मा बिगो ६ लाख ५२ हजार ६ सय कायम गरिएको विज्ञप्तिमा उल्लेख छ।
आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका आरोपितसँग घुस लिएको आरोपमा रिजाललाई गत पुस १५ गते अख्तियारले नियन्त्रणमा लिएको थियो ।