काठमाडौं, १९ माघ । सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छविलाई निश्पक्ष र पारदर्शी बनाउदै अध्ययनको क्षेत्राधिकार बढाउनुपर्ने माग गरेका छन् । राष्ट्रिय सभाको आइतवारको बैठकमा सांसदहरुले अख्तियारको दायरा बढाउने भन्दा घटाउने काम भएको भन्दै सानो दायरा बनाउन नहुने बताएका हुन ।
राष्ट्रियसभाको आईतबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेश्रो संशोधन विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसदहरुले आयोगको छविलाई नै निश्पक्ष, पारदर्शी र जनविश्वासी बनाउनुपर्नेमा जोड दिएका हुन् । बैठकमा सांसद राधेश्याम अधिकारीले विधेयकमा रहेका संविधान विरुद्धका प्रावधान हटाउनुपर्ने माग गर्नुभयो ।
सांसद प्रकाश पन्थले विधेयक संघीय र प्रादेशिक सरकारलाई नीतिगत रुपमा नै भ्रष्टाचार गर्न मिल्ने गरि ल्याईएको दाबी गर्नुभयो ।
सांसद ब्रिशेष चन्द्र लालले अख्तियार दुरुपयोगको अनुसन्धानको दायरा बढाउने भन्दा घटाउने काम भएको भन्दै दायरा सानो बनाउनु उपयुक्त नहुने बताउनुभयो ।
त्यसैगरी सांसद जितेन्द्र नारायण देवले मुलुकलाई भ्रष्टाचार मुक्त गर्न पहिला अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै भ्रष्टाचार मुक्त बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
छलफलमा उठेका जिज्ञासाको जवाफ दिदै स्वास्थ्य तथा जनसंख्या र कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले भ्रष्टाचारीहरुको दिनगन्ती सुरु भएको र भ्रष्टाचारबाट प्रतिगमन आउने खतराबाट नेपाल मुक्त बनेको बताउनुभयो ।
ढकालले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरण सरकारले नै उत्खनन् गरेकाले त्यस प्रकरणलाई लिएर सरकारको बचाउ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।