महोत्तरी, ११ माघ । सरस्वती पूजाका लागि सरस्वती देवीको मुर्ति तयार गर्नमा महोत्तरीका मुर्तिकारहरु व्यस्त देखिएका छन् । श्रीपञ्चमी नजिकिँदै गर्दा मुर्तिकारहरुलाई माग अनुसारको मुर्ति समयमै सकाउने चटारो छ ।
माघ १६ गते श्रीपञ्चमी अर्थात ज्ञानकी देवी सरस्वती पुजा परेकाले त्यसका लागि यतिखेर महोत्तरीका मुर्तिकारहरुलाई सरस्वतीको मुर्ति बनाउ भ्याइ नभ्याइ छ । महोत्तरीका बिभिन्न विद्यालयहरुमा विद्यार्थीहरुले माता सरस्वतीको प्रतिमा स्थापना गरी धुमधामसँग प्रत्येक बर्ष सरस्वती पुजा मनाउँने गर्छन् ।
सोही मुर्तिहरुको अडर पु-याउन मुर्तिकारहरुलाई भ्याई नभ्याई छ । अहिले विभिन्न शहर बजारहरुमा मुर्तिकारहरु सयाँैको संख्यामा अधुरो मुर्ति लाम लगाएर राखेको देख्न सकिन्छ ।
सरस्वतीपुजा, विश्वकर्मा पुजा, कृष्ण जन्माष्टमी र दुर्गा पुजा लगायतका पुजा तथा पर्वहरुमा मुर्तिको अत्यधिक खपत हुने गरेको मुर्तिकार बताउँछन् ।
शीतलहर र अत्याधिक चिसोले मुर्ति बनाउनलाई यसपाली मौसम प्रतिकुल भएको छ । समयमा मुर्ति नसक्ने तथा विग्रिन सक्ने समस्या अत्याधिक हुने गरेको मुर्तिकारहरुको भनाई छ ।
पहिले मुर्ति बनाउन आवश्यक पर्ने सामानहरु भारतबाटै ल्याउनु पर्ने भएपनि यस वर्ष भने जनकपुरमै सामग्रीहरु उपलब्ध भएकोले सिमापारी जाने समस्या नरहेको मुर्तिकार बताउँछन् । एउटा मुर्तिको न्युनतम २ हजार ५ सय देखि अधिकतम २० हजारसम्ममा कारोबार हुने मुर्तिकारको भनाई छ ।
महोत्तरीमा सरस्वतीको मुर्तिमा समेत विद्यार्थी र विद्यालयहरुले आधुनिकताको डिमाण्ड गर्न थालेका छन् । अधिकांश मुर्तिको अर्डर दिन आउने विद्यालयका विद्यार्थीहरुले माता सरस्वतीको मुर्तिमा पहिले देखि चल्दै आएको डिजाईन विणा र हाँस देखि लिएर आधुनिक समयको सवारीमा स्कुटी, रथ, फुल र चस्मा लगायतका विभिन्न डिजाईनहरु थप्न लगाउन थालेका छन् ।
यहाँका युवाहरुलाई पुर्ख्र्यौली पेशाका रुपमा रहेको मुर्तिकलाको सीप सिकाउन पाए आम्दानीका लागि युवाहरु विदेश नै जानु पर्ने बाध्यता हट्ने मुर्तिकार दिलीप पण्डीतको विश्वास छ ।
मुर्तिकारहरुले भने जस्तै यस्तो सीप तथा कलालाई नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्दै लैजान सकियो भने एकातिर कलाको जगेर्ना हुन सक्दछ भने अर्को तिर आम्दानीको गतिलो स्रोत पनि बन्न सक्दछ ।




