काठमाण्डौँ, १ असोज । निर्माण एवं सृजनाका देउता विश्वकर्माको आज पूजाआराधना गरिँदैछ ।
विश्वकर्मा पूजाको अवसरमा विभिन्न उद्योग, कलकारखानामा विशेषरुपमा औजार र मेशिन तथा सवारी साधनको पूजा गरिने प्रचलन रहेको छ ।
विश्वकर्माको पूजा गर्नाले शान्ति र आफ्नो रक्षा हुने विश्वास छ । आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् ।
पूजा शुरु गर्नुअगावै मेशिनरी, सवारीसाधनलगायतको राम्रोसँग सरसफाइ गरेपछि मात्र पूजा शुरु गरिएको हुन्छ ।
धार्मिक मान्यताअनुसार भाद्र शुक्लपक्षको चतुर्थी तिथिमा मनाउनुपर्ने भनिए पनि नेपालमा असोज १ गतेका दिन यो पर्व मनाउने गरिन्छ ।
सो पूजाका लागि विभिन्न उद्योगलगायतमा विश्वकर्माको माटोको कलात्मक मूर्ति स्थापना गरी पूजापाठ गरिन्छ ।